धादिङबेसी,
गत बर्षहरूमा जस्तै याे बर्ष पनि धादिङका गुरुङ समुदायले तमू ल्होसार पर्व हर्षोल्लासपूर्वक मनाउने भएका छन्। तमू ल्होसारको अवसरमा धादिङबेसीमा गुरुङ संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिने भएको हो।

तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङ तथा धादिङबेसी तमू समाज धादिङको संयुक्त आयोजनामा पौष १५ गते धादिङबेसीस्थित कभर्डहलको प्राङ्गणमा कार्यक्रम हुने आयोजकले जनाएको छ।

कार्यक्रममा गुरुङ समुदायको प्रसिद्ध परम्परागत नृत्य घाँटु नाच सहित गुरुङ संस्कृति झल्किने विशेष सांस्कृतिक प्रस्तुति रहनेछ। तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमूस्योका अनुसार, सांस्कृतिक कार्यक्रम यस वर्षको तमू ल्होसारको मुख्य आकर्षण रहनेछ। हाल ल्होसारको तयारीलाई तीव्रता दिइएको पनि उहाँले जानकारी दिनुभयो।

यस्तै, कार्यक्रममा राष्ट्रियस्तरका गुरुङ कलाकारसँगै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका सचिव तथा सांस्कृतिक संयोजक प्रशान्त गुरुङले बताउनुभयो।

यो वर्ष तमू गुरुङ समुदायले अघिल्लो वर्गलाई विदाई गर्दै नयाँ वर्गलाई स्वागत गर्ने परम्पराअनुसार विशेष उत्साहका साथ तमू ल्होसार मनाउँदै छन्। गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ। तमू पात्रोअनुसार समयलाई १२ वटा जनावर तथा चराचुरुङ्गीका प्रतीकका आधारमा विभाजन गरिएको हुन्छ।

तमू ल्होसार गुरुङ समुदायको मौलिक संस्कृति, पहिचान र परम्परालाई जगेर्ना गर्ने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0