ईश्वर थापा मगर
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार पार्टीको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई आधिकारिक ठहर गरेको हो।

आयोग उच्च स्रोतका अनुसार, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्त सगुनशमशेर राणा थापा पक्षको पक्षमा उभिएका थिए भने आयुक्त जानकी तुलाधारले फरक मत राखेकी थिइन्। आयोगको बहुमत निर्णयका आधारमा थापा नेतृत्वलाई आधिकारिक मान्यता प्रदान गरिएको स्रोतले जनाएको छ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका थिए। सोही विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू—सभापति थापासहित—ले पार्टीको विवरण अद्यावधिक गर्न बिहीबार निर्वाचन आयोगमा औपचारिक निवेदन दिएका थिए।
यसैबीच, सभापतिमा दाबी गर्दै पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा छुट्टै निवेदन दर्ता गराउँदै आफूहरू आधिकारिक भएको दाबी प्रस्तुत गरेका थिए। दुवै पक्षबाट दाबी आएपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई छलफलका लागि आयोगमा बोलाएको थियो।

दुवै पक्षका तर्क, कागजात र कानुनी आधारहरूको मूल्याङ्कनपछि आयोगले गगनकुमार थापा नेतृत्वको पक्षलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएको हो।
आयोगको यस निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ तथा पार्टीको चारतारे झण्डामाथि पनि थापा पक्षकै आधिकारिक स्वामित्व कायम भएको छ। यो निर्णयले कांग्रेसभित्र देखिएको लामो विवादलाई औपचारिक रूपमा टुंगोमा पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0