धादिङ बेसी , २० माघ २०८२

सर्ने रोगको तुलनामा नसर्ने रोगले भयावह रूप लिँदै गएको निष्कर्षसहित धादिङ जिल्लामा नसर्ने रोग रोकथाम, न्यूनीकरण तथा मानसिक स्वास्थ्य प्रवर्द्धनसम्बन्धी जिल्ला स्तरीय समन्वय कार्यक्रम सम्पन्न भएको छ।

धादिङ जिल्ला अस्पतालको सभाहलमा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा जिल्लाका विभिन्न गाउँपालिकाका अध्यक्षहरू, पत्रकारहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो

साथै यही माघ २७ देखि २९ गते सम्म पाठेघर को मुखको क्यानसर बिरुद्दको एच पि भी खोप धादिङ जिल्लाका २ हजार ७ सय ३३ जनालाई लगाईने स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बत्ताउन भयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले नसर्ने रोग (उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर लगायत) तथा मानसिक स्वास्थ्य समस्या पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको जानकारी गराउँदै यसले समाज र स्वास्थ्य प्रणालीमा गम्भीर चुनौती सिर्जना गरेको बताए। उनले सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु तथा दीर्घरोगीको संख्या बढ्दै गएको उल्लेख गरे।

कार्यक्रममा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको अवस्था, जोखिम कारक, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै सरकारी निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा जीवनशैलीमा सुधार, धूम्रपान तथा मदिरा सेवन नियन्त्रण, स्वस्थ खानपान, नियमित व्यायाम, समयमै स्वास्थ्य परीक्षण तथा मानसिक स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

जिल्ला समन्वय प्रमुख नवराज अधिकारीले नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको समाधानका लागि स्थानीय तहदेखि समुदायस्तरसम्म एकीकृत प्रयास आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमहरूले जनचेतना अभिवृद्धि र नीति कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0