धादिङ। रामबहादुर भण्डारीले आफुले पुनर्जन्म पाएकाे स्थानबाटै सुरू गरे जनता भेटघाट अभियान
धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार रामबहादुर भण्डारीले जनता भेटघाट अभियान द्वन्दकालमा आफैलाई गाेलि लागि घाईते भएकाे स्थानबाट सुरु गरेका छन्।
२५ गते आइतबार बिहान ८ बजे नीलकण्ठ नगरपालिका–९ स्थित गोला भञ्ज्याङबाट औपचारिक रूपमा जनता भेटघाट कार्यक्रम उद्घाटन गरी अघि बढाईएकाे भण्डारीले जानकारी दिएका छन्।
ज्यामरूङले आफुलाई नयाँ जीवन दिएकाेले यस स्थानले आफूलाई पुर्नजन्म दिएकाे र गोला भञ्ज्याङबाटै अभियानको शुभारम्भ गरेकाे भण्डारीले बताए । ज्यामरूङबाट नै अभियानकाे सुरूवात गर्नुलाई अर्थपूर्ण र भावनात्मक निर्णयका रूपमा हेरिएको छ। जनयुद्धको समयमा सोही स्थानमा शाही नेपाली सेनाले गोली हानेर मृत ठानेर मकैबारीमा फालेका भण्डारीलाई स्थानीय बासिन्दाले जीवित अवस्थामा फेला पारेर हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याएका थिए।
स्थानीयको सक्रियताकै कारण उनको ज्यान जोगिएको थियो। उक्त घटनालाई आफ्नो जीवनको टर्निङ प्वाइन्टका रूपमा स्मरण गर्दै भण्डारीले त्यही ऐतिहासिक र संघर्षपूर्ण स्थानबाट जनता भेटघाट अभियान सुरु गरेकाे बताए। “यो ठाउँ मेरो पुनर्जन्म जस्तै हो, यहाँका जनताप्रति म सधैं ऋणी छु,” उनले भने।
अभियानअन्तर्गत भण्डारीले क्षेत्र नं–२ का विभिन्न गाउँ तथा बस्तीमा पुगेर स्थानीयको समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष संवाद गर्ने, साथै आफ्नो राजनीतिक प्रतिबद्धता र विकास योजनाबारे जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।
निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको यस अभियानले स्थानीयस्तरमा थप राजनीतिक चासो र चर्चा सिर्जना गरेको छ।






