अ्मित पौडेल
धादिङ , २६ माघ २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई निष्पक्ष, भयरहित र पारदर्शी रूपमा सम्पन्न गर्ने उद्देश्यले धादिङमा आज निर्वाचन आचारसंहिता कार्यान्वयन तथा पालना सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ।
निर्वाचन आयोग, नेपालद्वारा जारी निर्वाचन आचारसंहिता–२०८२ को प्रभावकारी कार्यान्वयनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका पत्रकार, गैरसरकारी संस्था तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री विजयराज सुबेदीले सहजीकरण गर्दै निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सबै पक्षको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले निर्वाचन अवधिमा सरकारी, गैरसरकारी तथा विकास साझेदार संस्थाहरू, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा निर्वाचन आचारसंहिता–२०८२ अनुसार गैरसरकारी संस्था तथा विकास साझेदार संस्थाले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न नपाइने, कुनै पनि कार्यक्रम, सर्वेक्षण, अध्ययन वा सहयोग निर्वाचन प्रभावित हुने गरी सञ्चालन गर्न नहुने लगायतका विषयमा स्पष्ट जानकारी गराइएको थियो।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रयोग गरी भ्रामक सूचना, सन्देश, पोस्ट, रिपोर्ट, सेयर, कमेन्ट, लाइक, स्ट्रिमिङ, ट्याग वा मेन्सनमार्फत मत प्रभावित पार्ने कार्य गर्न नपाइने विषयमा पनि सहभागीहरूलाई सचेत गराइएको थियो।
निर्वाचन आचारसंहिता पालना सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै कार्यक्रममार्फत पत्रकार तथा संघ–संस्थालाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।
कार्यक्रमले जिल्लामा निर्वाचन सम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै आचारसंहिता पालना सुनिश्चित गर्न सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।






