धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धादिङ क्षेत्र नं. १ मा राजेन्द्र प्रसाद पाण्डे विकासको स्पष्ट रोडम्यापसहित मतदाताको घरदैलोमा सक्रिय भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका पाण्डेले शिक्षा, स्वास्थ्य, खेलकुद र पूर्वाधारलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
शिक्षा क्षेत्रमा प्रविधिमैत्री पहल
धादिङको ऐतिहासिक आदर्श बहुमुखी क्याम्पस लाई विज्ञान तथा सूचना प्रविधि शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने घोषणा पाण्डेले गरेका छन्।
उनको योजना अनुसार बीआईटी, बीसीए, साइबर सेक्युरिटी जस्ता प्राविधिक कार्यक्रम सञ्चालन, अत्याधुनिक कम्प्युटर ल्याब र डिजिटल लाइब्रेरी स्थापना तथा उद्योग–शिक्षा सहकार्यमार्फत रोजगारीसँग जोडिने पाठ्यक्रम अघि बढाइनेछ।
स्वास्थ्यमा महत्वाकांक्षी योजना
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै पाण्डेले थाक्रे–१ विर्ताचौरमा विशेष क्यान्सर अस्पताल स्थापना गर्ने योजना अघि सारेका छन्।
त्यस्तै बेनिघाट रोराङ–३ मलेखु स्थित राजमार्ग सामुदायिक अस्पताललाई ५० शैयामा स्तरोन्नति गरी विशेषज्ञ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।
उनका अनुसार, “सामान्य उपचारका लागि काठमाडौंतिर धाउनुपर्ने बाध्यता अन्त्य गरिनेछ।”
खेलकुद पूर्वाधारमा जोड
युवापुस्तामा बढ्दो क्रिकेट र फुटबल क्रेजलाई सम्बोधन गर्दै पाण्डेले पृथ्वी राजमार्ग आसपासका ६ स्थानीय तहमध्ये एक उपयुक्त स्थानमा आधुनिक क्रिकेट मैदान निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्।
त्यसैगरी धुनिवेशी–धार्के तथा सिद्धलेक–बर्खेघाट क्षेत्रमा रहेको फुटबल मैदानलाई राष्ट्रियस्तरको रंगशालामा रूपान्तरण गरिने बताइएको छ। यसबाट स्थानीय प्रतिभालाई राष्ट्रियस्तरमा अवसर दिलाउने लक्ष्य राखिएको छ।
पर्यटन, उद्योग र युवा लक्षित कार्यक्रम
पाण्डेले पृथ्वी राजमार्ग वरिपरि व्यवस्थित सहरी विकास, पर्यटन प्रवर्द्धनका लागि त्रिशूली–चन्द्रागिरी जोड्ने पर्यटकीय सर्किट निर्माण, साना तथा घरेलु उद्योगलाई सहुलियत ऋण तथा बजार सुनिश्चितता र युवालाई लक्षित स्टार्टअप प्रवर्द्धन कोष स्थापना गर्ने योजना अघि सारेका छन्।
आफूलाई “अनुभव र योजनाको संयोजन” का रूपमा प्रस्तुत गर्दै पाण्डेले मतदातासँग विश्वासको मत मागिरहेका छन्। क्रिकेट मैदानदेखि क्यान्सर अस्पतालसम्मका योजनासहितको विकास खाका बोकेर घरदैलोमा पुगेका पाण्डेको अभियानले धादिङ–१ मा चुनावी माहोल थप तातेको छ।






