धादिङ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २, धादिङका उम्मेदवार धनबहादुर घलेले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै दिगो, सन्तुलित र समावेशी विकास केन्द्रित विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ।

घलेले जिल्लाको समग्र विकासका लागि पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यकता र सम्भाव्यताका आधारमा ग्रामीण सडक कालोपत्रे, पक्की पुल निर्माण तथा अव्यवहारिक सडक मापदण्ड पुनरावलोकन गर्ने योजना अघि सार्नुभएको छ। औद्योगिक विकासका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

उम्मेदवार घलेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण तथा राष्ट्रिय स्वाधीनताको रक्षामा एमालेले खेलेको भूमिकाको चर्चा गर्दै मुलुकलाई स्थिरता, सुशासन र समृद्धितर्फ डोर्याउन एमाले नेतृत्व अपरिहार्य रहेको दाबी गर्नुभयो। भूकम्पपछिको पुनर्निर्माण, राष्ट्रिय गौरवका आयोजना, नयाँ नक्सा जारी, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग निर्माणलगायत उपलब्धि एमाले नेतृत्वमा सम्भव भएको उहाँको भनाइ छ।

कृषि तथा पशुपालनको व्यवसायीकरण र बजारीकरणलाई जोड दिँदै स्थानीय उत्पादनको ब्रान्डिङ, कृषि बीमा, सिँचाइ व्यवस्थापन र कृषि पर्यटन प्रवर्द्धन गरिने उल्लेख गरिएको छ। उब्जाउ जमिनको पूर्ण सदुपयोग गर्ने नीति अवलम्बन गरिने घलेले स्पष्ट पार्नुभयो।

जिल्लाभित्रका गुठी जग्गासम्बन्धी समस्या समाधान, साना जलविद्युत् आयोजनामा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने तथा बुढीगण्डकी जलविद्युत आयोजना शीघ्र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।

प्राकृतिक स्रोतको सदुपयोगतर्फ लक्षित गर्दै गणेश हिमाल क्षेत्रका खानी तथा धातुहरूको अध्ययन, उत्खनन र बजारीकरणका लागि नीतिगत व्यवस्था गरिने तथा रूवीभ्याली क्षेत्रका पत्थर र जडीबुटीको पहिचान तथा प्रवर्द्धन गरिने योजना अघि सारिएको छ। साथै खर्क र गोठ व्यवस्थापन, भेडा तथा चौरी संरक्षण र स्थानीय भाषा, संस्कृति तथा मौलिक पहिचान जगेर्नामा विशेष जोड दिइने उल्लेख छ।

घलेले शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धि, स्वास्थ्य बीमामार्फत सबै नागरिकलाई सेवा पहुँच सुनिश्चित गर्ने, ‘एक घर एक धारा’ अभियानमार्फत स्वच्छ खानेपानी उपलब्ध गराउने तथा विद्यालय शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउने योजना अघि सार्नुभएको छ।

सामाजिक सुरक्षालाई सुदृढ बनाउने, समावेशी विकासलाई प्राथमिकता दिने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने उहाँको प्रतिबद्धता छ।

सबै पालिकामा बहुउद्देश्यीय कभर्डहल निर्माण, राष्ट्रिय मापदण्डअनुसार खेलमैदान निर्माण तथा युवाका लागि सीप विकास केन्द्र सञ्चालन गरिने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ। स्थानीय उद्योग प्रवर्द्धन, सहुलियत कर्जा तथा उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाइने जनाइएको छ।

उम्मेदवार घलेले प्रस्तुत नीतिका आधारमा योजनाहरू तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा लैजाने दृढता व्यक्त गर्दै मतदातासँग सहयोग र समर्थनको अपेक्षा गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0