धादिङ ,
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित गर्दै धादिङ क्षेत्र नं. २ का लागि रमेश धमलाले ९ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका धमलाले गणतन्त्र र संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र सुशासनमार्फत जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित आफ्नो एजेन्डा अघि सारेका हुन्।
धमलाले भाषणभन्दा परिणाममुखी राजनीतिमा विश्वास गर्ने बताउँदै युवापुस्ताको माग, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेका छन्। स्टार्टअप सहायता, रिटर्नी आप्रवासीमैत्री वातावरण र महिला–युवा उद्यमशीलतालाई विशेष प्रोत्साहन दिने उनको योजना छ।
पूर्वाधारतर्फ बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने, धादिङबेसी–साङ्कोष–तिलिङ–सोमदाङ सडक कालोपत्रे गर्ने, आवश्यक स्थानमा पक्की पुल निर्माण र डिजिटल सेवा विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ। उत्तरी धादिङमा निर्माणाधीन जलविद्युत आयोजनामा स्थानीय जनताको स्वामित्व सुनिश्चित गर्ने पनि उनले उल्लेख गरेका छन्।
स्वास्थ्य क्षेत्रमा धादिङ जिल्ला अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने, सल्यानटार अस्पताललाई ५० शैयामा विस्तार गर्ने र सबै पालिकामा टेलिमेडिसिन सेवा पुर्याउने योजना अघि सारिएको छ। “एक घर–एक धारा” कार्यक्रममार्फत स्वच्छ खानेपानी प्रत्येक घरमा पुर्याउने घोषणा समेत गरिएको छ।
शिक्षातर्फ सीपमूलक तथा रोजगारमुखी शिक्षा, प्राविधिक धारसहित क्याम्पस स्तरोन्नति, स्मार्ट कक्षा र ICT ल्याब स्थापना गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको छ। क्षेत्र नं. २ मा प्रादेशिक स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।
कृषि र आर्थिक विकासतर्फ “एक गाउँ–एक उत्पादन” अवधारणालाई प्रभावकारी बनाउने, व्यावसायिक खेती प्रवर्द्धन, चिस्यान केन्द्र स्थापना र कृषि–आधारित साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने उल्लेख छ।
पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल र रूबी भ्याली क्षेत्रलाई पर्यटन हबका रूपमा विकास गर्ने, पदमार्ग तथा होमस्टे विस्तार गर्ने योजना अघि सारिएको छ।
वातावरण संरक्षण, विपद् व्यवस्थापन सञ्जाल सुदृढीकरण, आकस्मिक हेलिकोप्टर उद्धार व्यवस्था, तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता पनि घोषणामा उल्लेख गरिएको छ।
धमलाले संसदमा धादिङका जनसरोकारका विषय सशक्त रूपमा उठाउने र नियमित जनसंवादमार्फत मतदातासँग सम्पर्कमा रहने बताएका छन्।
धादिङ–२ मा सार्वजनिक गरिएको यो ९ बुँदे प्रतिबद्धताले चुनावी प्रतिस्पर्धालाई थप तीव्र बनाएको छ।
“प्रतिवद्धता पत्र PDF File मा यहाँ हेर्न सक्नुहुनेछ ।”
“प्रतिवद्धता पत्र_compressed”