धादिङ, १२ फगुन २०८२
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १७ जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन्।
सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित चरौदी नजिकैको चाइनाधाराबाट त्रिशूली नदीमा खसेको हो।
जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार दुर्घटनामा परी १७ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। अन्य २३ जनालाई उद्धार गरी उपचारका लागि नजिकका अस्पताल पठाइएको राजमार्ग उद्धार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए।
बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा रातिदेखि नै उद्धार कार्य जारी रहेको जनाइएको छ।
घटनाप्रति स्थानीय प्रशासनले दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार र आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






