नवलपरासी, फागुन २६
जेनजी पुस्ताको आन्दोलनमा अग्रपंक्तिमा देखिएका २६ वर्षीय अधिवक्ता मनिष खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर–२ बाट विजयी भएका हुन्।
निर्वाचन परिणाम अनुसार खनालले नेकपा (एमाले) का उम्मेदवार तिलबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गरेका छन्। युवा पुस्ताको आकांक्षा र वैकल्पिक राजनीतिक सोच बोकेको अनुहारका रूपमा उनलाई हेरिएको छ।
भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा खनाल अग्रपंक्तिमा देखिएका थिए। त्यसपछि पनि उनी विभिन्न आन्दोलन र नागरिक अभियानमा सक्रिय रहँदै आएका थिए। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग विभिन्न चरणमा भएको संवादमा समेत उनी सहभागी भएका थिए।
मंसिर २४ गते सरकार र जेनजी आन्दोलनबीच भएको १० बुँदे सम्झौता तयार पार्ने प्रक्रियामा पनि खनालले महत्वपूर्ण भूमिका खेलेका थिए। लामो समयदेखि सडक आन्दोलनमार्फत सरकारलाई खबरदारी गर्दै आएका उनले अब संसदमार्फत जनताको आवाज उठाउने बताएका छन्।
“म संसदमा जेनजी जनआन्दोलनको आवाज उठाउन आएको हुँ। सहिद र घाइतेका माग स्थापित गर्न पूर्ण रूपमा प्रतिबद्ध भएर काम गर्नेछु,” खनालले बताएका छन्। उनले आफू जेनजी आन्दोलनकै बलमा यहाँसम्म आइपुगेको भन्दै यसका मुद्दा निरन्तर उठाउने प्रतिबद्धता व्यक्त गरे।
खनालले संसदमा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा निरन्तर आवाज उठाउने तथा आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अर्थपूर्ण योगदान गर्ने पनि बताएका छन्।
खनाल नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका हुन्। नेपाल बार काउन्सिलबाट लाइसेन्स प्राप्त गरेपछि उनी पछिल्लो दुई वर्षदेखि अधिवक्ताका रूपमा वकालत पेशामा सक्रिय छन्।
राजनीतिक रूपमा पनि उनी केही वर्षदेखि सक्रिय छन्। वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै उनी तत्कालीन विवेकशील साझा पार्टीमा आबद्ध भएका थिए। २०७६ सालमा जनकपुरमा सम्पन्न विवेकशील नेपाली दलको महाधिवेशनबाट उनी २० वर्षको उमेरमै केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
माइतीघर मण्डल केन्द्रित विभिन्न नागरिक अभियान तथा आन्दोलनमा सक्रिय रहेका खनालले संसदीय अभ्यासको अनुभव पनि बटुलेका छन्। उनी रास्वपाका सांसद असिम शाहको स्वकीय सचिवका रूपमा काम गर्दै संसद र नीति निर्माण प्रक्रियाबारे अनुभव हासिल गरेका थिए।
अब संघीय संसदमा पुगेका खनालले युवा पुस्ताको आवाज, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। नवलपरासी–२ का मतदाताले उनलाई युवा पुस्ताको भरोसा र परिवर्तनको अपेक्षासहित संसदमा पठाएका छन्।






