धादिङ

जिल्लाको सदरमुकाम धादिङवेसीदेखि मलेखु फुर्केखोलासम्मको करिब १८ किलोमिटर सडकखण्डमा ८ वटा गेट निर्माण गरिएको पाइएपछि यसको आवश्यकता र उद्देश्यबारे प्रश्न उठ्न थालेको छ। छोटो दुरीको सडकमा धेरै गेट राखिएको विषय स्थानीय तथा सरोकारवालाबीच बहसको विषय बन्न थालेको हो।

पृथ्वी राजमार्गबाट धादिङवेसी प्रवेश गर्ने सुरुमै सहिद स्मारक गेट देखिन्छ। त्यस्तै धादिङवेसी सदरमुकामबाट मलेखु जाने साँघुटार क्षेत्रबाट सुरु हुने विभिन्न स्थानमा क्रमशः गेटहरू देख्न सकिन्छ। ससाह चेडुखोला क्षेत्रमा करिब ५० मिटरको दुरीमै दुई वटा गेट निर्माण गरिएको छ भने फुर्केखोला–धादिङवेसी सडकको दायाँबायाँ सिद्धलेक गाउँपालिका जाने बाटोमा दुई वटा गेट देखिन्छन्। छोटो दुरीमा नै दुईवटा गेट रहेको कारण ठुला सवारी साधनहरुलाई गेट पास गर्ननै कठिन हुने गरेको छ ।

यसैगरी सिद्धलेक गाउँपालिका वडा नं. १ जाने बाटो र वडा नं. ५ जाने बाटोमा थप दुई वटा गेट निर्माण गरिएको छ। फुर्केखोला पुल तरेर अघि बढेपछि पुनः अर्को गेट देखिन्छ। यसरी करिब १८ किलोमिटर सडक पार गर्दा यात्रुले ८ वटा गेट पार गर्नुपर्ने अवस्था रहेको छ।

स्थानीयका अनुसार यस्ता गेटहरूले खास सन्देश के दिन खोजेका हुन् भन्ने स्पष्ट नभएको र निर्माणको उद्देश्यबारे समेत धेरैलाई जानकारी छैन। कतिपयले भने यसलाई अनावश्यक संरचना भन्दै सार्वजनिक स्रोतको सही प्रयोगबारे प्रश्न उठाएका छन्।

यही विषयलाई लिएर धादिङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा भर्खरै निर्वाचित आशिका तामाङ सामाजिक सञ्जालमा गेट निर्माणको विरोध गर्दै भाइरल समेत बनेकी थिइन्। उनले यस्ता अनावश्यक संरचनाबारे आवाज उठाएपछि धेरैले समर्थन गरेका थिए।

अब उनी प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित भइसकेपछि धादिङवेसी–मलेखु सडकखण्डमा बनेका यस्ता अनावश्यक गेट हटाउने वा व्यवस्थापन गर्ने विषयमा पहल गर्छिन् कि गर्दिनन् भन्ने चासो स्थानीयमा बढ्दै गएको छ।

स्थानीयवासी भने विकासका नाममा बनाइने संरचनाले वास्तविक आवश्यकता र दीर्घकालीन उपयोगितालाई प्राथमिकता दिनुपर्ने बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0