काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतका आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले बैठकमा मुख्य रूपमा दुई वटा एजेण्डा रहेको जानकारी दिए। उनका अनुसार रास्वपाले समानुपातिक सूचीमा पाएको मतका आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली तोकिएको समयसीमाभित्रै निर्वाचन आयोगमा बुझाउने निर्णय गरिएको हो।

उनका अनुसार सूचीमा खस आर्यतर्फ १७ जना, जनजातितर्फ १६ जना, दलिततर्फ ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना र थारु समुदायबाट ४ जना गरी कुल ५७ जना समावेश गरिएको छ। कानुनी प्रावधानअनुसार उक्त सूचीमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन्।

प्रवक्ता झाले नामावली निर्वाचन आयोगमा बुझाएपछि आयोगले रुजु तथा भेरिफिकेसन प्रक्रिया पूरा गरेपछि मात्र आधिकारिक रूपमा नामहरू सार्वजनिक गर्ने बताए।

उनले भने, “राजनीतिक तथा कानुनी प्रक्रिया अन्तर्गत आयोगले अनुमोदन नगरेसम्म ती नामहरू हाम्रो तर्फबाट प्रस्तावित सूची मात्र हुने भएकाले आयोगले सार्वजनिक गर्ने निर्णयको प्रतीक्षा गर्नेछौं।”

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0