धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जेमा निर्माणाधीन स्वास्थ्य चौकी भवन लामो समयदेखि अलपत्र परेको विषयमा त्रिकोण खबर अनलाइनमा समाचार प्रकाशित भएपछि धादिङ क्षेत्र नं. २ का सांसद बोध नारायण श्रेष्ठले स्थलगत अनुगमन गरेका छन्।

कटुन्जे हुलाक गाउँमा रहेको उक्त स्वास्थ्य चौकी भवन २०७६ सालमा टेन्डर भई निर्माण कार्य सुरु गरिएको भए पनि २०७९ सालसम्म सीमित काम मात्रै गरेर निर्माण कम्पनीले काम रोक्दा भवन अलपत्र अवस्थामा पुगेको छ। हाल उक्त भवन अधुरो अवस्थामा रहेको छ भने स्वास्थ्य सेवा प्रवाह भइरहेको पुरानो प्रिफ्याब भवन पनि जीर्ण बन्दै गएको स्थानीयले बताएका छन्।

अलपत्र भवनको अवस्थाबारे त्रिकोण खबर अनलाइनले यही मार्च १० मा समाचार प्रकाशित गरेको थियो। सोही समाचारपछि चासो व्यक्त गर्दै सांसद श्रेष्ठले स्थलमै पुगेर भवनको अवस्थाबारे जानकारी लिएका हुन्।

अनुगमनका क्रममा सांसद श्रेष्ठले लामो समयदेखि रोकिएको निर्माण कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वास्थ्य चौकी भवनको निर्माण कार्य छिट्टै सम्पन्न गर्न सम्बन्धित निकायसँग समन्वय गरी तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीयवासीले स्वास्थ्य चौकी भवन छिटो सम्पन्न भएमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिने अपेक्षा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0