काठमाडौँ, चैत २२ — प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा स्थगित गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालनमा आएको छ। निर्वाचन आयोगका अनुसार मङ्सिर ६ गतेदेखि रोकिएको उक्त कार्यक्रम चैत २२ गतेदेखि देशभर पुनः सुचारू गरिएको हो।

आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकलाई अनलाइन प्रणालीमार्फत नै मतदाता नामावलीमा नाम दर्ता गर्ने सुविधा उपलब्ध गराएको जनाएको छ। यस व्यवस्थाअनुसार सेवाग्राहीले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी सहज रूपमा नाम दर्ता गर्न सक्नेछन्।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकका लागि भने Pre-Enrollment प्रणालीमार्फत अनलाइन फाराम भरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेछ। त्यस्ता आवेदकले आफ्नो फोटो तथा औंठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ।

यसका साथै, मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइसम्बन्धी विवरण अद्यावधिक गर्ने लगायतका सेवाहरू पनि अनलाइनमार्फत उपलब्ध गराइएको आयोगले जनाएको छ। नाम, थर वा ठेगाना सच्याउने, एकै वडाभित्र पायक पर्ने मतदान स्थलमा नाम सार्ने तथा नागरिकताअनुसार विवरण मिलाउने सुविधा समेत समेटिएको छ।

निर्वाचन आयोगले सम्बन्धित सबै नागरिकलाई उपलब्ध सेवाको उपयोग गरी आफ्नो मतदाता विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0