बद्री पौडेल
काठमाडौं , भृकुटीमण्डप
जनजाति कल्याण आश्रम, नेपाल (आमाको माया छात्रावास) बागमती प्रदेशको १६औँ वार्षिकोत्सव समारोह शनिबार (वैशाख ५ गते, २०८३ / अप्रिल १८, २०२६) काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराइएको थियो। वक्ताहरूले जनजाति समुदायको शिक्षा, संरक्षण र उत्थानमा आश्रमले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यलाई अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे।
जनजाति कल्याण आश्रमअन्तर्गत सञ्चालित ‘आमाको माया छात्रावास’ देशका विभिन्न ११ स्थानमा सञ्चालनमा रहेको छ। उक्त छात्रावासमार्फत अभिभावकविहीन तथा असहाय बालबालिकालाई शिक्षा प्रदान गर्ने, उनीहरूलाई संस्कारी बनाउने तथा हिन्दु, बौद्ध र किरात धर्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन हुँदै आएको संस्थाले जनाएको छ । कार्यक्रममा बिभिन्न समूदायहरुको सस्कृति झल्कल्कने गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
सस्थाका अध्यक्ष प्रमोद कुमार अग्रवालले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमपछि सहभागीहरूका लागि सामूहिक भोजनको समेत व्यवस्था गरिएको थियो।







