काठमाडौं, वैशाख ३०
माननीय स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवबीच बैशाष २९ गते मन्त्रालयमा सौहार्दपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका क्रममा नेपाल–भारतबीच सदियौँदेखि कायम रहँदै आएको ऐतिहासिक तथा घनिष्ठ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध पक्षबारे गहन छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
भेटवार्तामा नेपालका राष्ट्रियस्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा स्वास्थ्य पूर्वाधार विकासका क्षेत्रमा आगामी दिनमा भारतीय सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ।
नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा सहकार्यलाई अझ विस्तार गर्दै नागरिकस्तरमा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने दिशामा दुवै पक्ष प्रतिबद्ध रहेको जनाइएको छ।






