धादिङ , त्रिपुरासुन्दरी  गाउपालिका

 नृसिंहधाम महामहोत्सव एघारौँ दिनमा प्रवेश गर्दै गर्दा भक्तजनहरूको उपस्थिति उल्लेख्य रूपमा बढेको छ । दैनिक हजारौँ भक्तजन ठूला तथा साना सवारी साधनमार्फत महोत्सवस्थल पुग्न थालेपछि सवारी व्यवस्थापन, पार्किङ, खानेपानी र स्वास्थ्य सेवामा समस्या देखिन थालेको छ ।

महोत्सव स्थलमा बिहानैदेखि भक्तजनहरूको भीड बढेपछि मन्दिर परिसरदेखि रानीपौवासम्म सवारी साधनको लामो जाम लागेको छ । अत्यधिक भीड, साँघुरो सडक र अव्यवस्थित पार्किङका कारण यात्रुहरू लामो समय सडकमा अलपत्र पर्न बाध्य भएका छन् । कतिपय श्रद्धालुहरूले गन्तव्यसम्म पुग्न लामो दूरी पैदल यात्रा गर्नुपरेको बताएका छन् ।

चर्को गर्मीका बीच पर्याप्त खानेपानीको व्यवस्था नहुँदा भक्तजनहरू थप समस्यामा परेका थियो । सामान्य पिउने पानीसमेत सहज रूपमा खरिद गर्न नसकिएको भन्दै श्रद्धालुहरूले गुनासो गरेका थिए  । भीड र अत्यधिक गर्मीका कारण मिनेट–मिनेटमा भक्तजन बेहोस हुने अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका  थियो ।

बिरामी परेका श्रद्धालुहरूलाई अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्था गरिए पनि सडक जाम र भीडका कारण सहज रूपमा आवतजावत गर्न कठिन भएको जनाइएको छ । आकस्मिक स्वास्थ्य सेवा प्रभावित हुँदा गम्भीर बिरामीलाई समयमै उपचारमा लैजान चुनौती थपिएको स्थानीयहरूले बताएका  थिए ।

त्यसैगरी भीडका कारण मोबाइल नेटवर्कसमेत प्रभावित बनेको छ । फोन सम्पर्क हुन कठिन भएपछि आफन्तसँग छुट्टिएका भक्तजनहरू समस्यामा परेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा समेत महोत्सव व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै विभिन्न भिडियो तथा प्रतिक्रियाहरू सार्वजनिक भइरहेको मा अब सुधार हुनेमा आशाबादी छन् ।

विशेषगरी सवारी पार्किङको अव्यवस्था, खानेपानीको अभाव तथा होटल र पसलहरूले अत्यधिक शुल्क असुलिरहेको विषयले सर्वसाधारणको ध्यान खिचेको छ । कतिपय स्थानीय व्यवसायीहरूले आवश्यक सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढाएको आरोप श्रद्धालुहरूले लगाएका छन् ।

स्थानीयवासी तथा श्रद्धालुहरूले धार्मिक आस्थासँग जोडिएको यस्ता महोत्सवमा व्यवस्थित सेवा र आधारभूत सुविधाको सुनिश्चितता आवश्यक रहेको बताएका छन् । उनीहरूले अव्यवस्थित अवस्था कायम रहे धार्मिक मेलाको गरिमामाथि मात्र नभई गाउँपालिका र जिल्लाकै प्रतिष्ठामाथि प्रश्न उठ्ने चेतावनी दिएका छन् ।

यता आयोजक पक्षले भने भक्तजनहरूको अपेक्षाभन्दा धेरै भीड बढेकाले व्यवस्थापनमा चुनौती थपिएको जनाएको छ । भीड नियन्त्रण, पार्किङ व्यवस्थापन, खानेपानी वितरण र स्वास्थ्य सेवामा थप सुधारका लागि प्रयास भइरहेको आयोजकको भनाइ छ , आगामी दिनहरुमा ब्यापक सुधार र ब्यबस्थित गर्दै गएको आयोजक को भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0