- बिजय पौडेल , धादिङ, जेठ १९ , २०८३
नीलकण्ठ नगरपालिका–८ अमरावतीस्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालय मा अध्ययनरत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले खेलकुद, मनोरञ्जन तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ। उक्त सामग्री शितल छहारी नेपाल को आयोजनामा तथा जर्मनीस्थित साझेदार संस्था Coin e.V. (Cochlea Implantate e.V. Germany) को सहयोगमा उपलब्ध गराइएको हो।
मिति २०८३ जेठ १९ गते विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमका बीच विद्यार्थीहरूको मनोरञ्जन तथा खेल गतिविधिका लागि कभर्ड चिप्लेटी (Roof Slide) र चेन पिङ (Chain Swing) हस्तान्तरण गरिएको थियो। साथै, विद्यार्थीहरूको व्यक्तिगत स्वास्थ्य र सरसफाइ प्रवर्द्धनका लागि साबुन, टूथब्रस, मञ्जन लगायतका सामग्री तथा क्यारिम बोर्ड समेत प्रदान गरिएको छ।
कार्यक्रममा विद्यालय तथा सहयोगी संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश दाहाल, शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेल, संस्थापक अध्यक्ष बिना भट्ट पौडेल, सल्लाहकार बालकृष्ण नेपाली, सदस्यहरू रुपा धमला पौडेल, अनुपा पौडेल , प्रशान्त ढुंगाना र विजय पौडेल, साथै धादिङ प्रेसका सञ्चालक विमल तामाङ लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी ले शितल छहारी नेपालले विद्यालयको आवश्यकता पहिचान गरी विभिन्न समयमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले यस्ता खेलकुद तथा अतिरिक्त क्रियाकलापका सामग्रीले विशेष आवश्यकता भएका बालबालिकाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै सहयोगी संस्था र जर्मनीका दाताहरूलाई धन्यवाद ज्ञापन गरे।
त्यसैगरी, शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेल ले विद्यालय तथा समुदायको आवश्यकता अनुरूप सहयोगात्मक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
संस्थाकी संस्थापक अध्यक्ष बिना भट्ट पौडेल ले शितल छहारी नेपालले लामो समयदेखि धादिङ जिल्लाका विभिन्न ग्रामीण तथा लक्षित समुदायमा शिक्षा, स्वास्थ्य तथा बालकल्याणका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र विस्तारित बनाइने बताइन्।
विशेष गरी बहिरा तथा फरक क्षमता भएका विद्यार्थीहरूको मनोरञ्जन, शारीरिक व्यायाम, मानसिक विकास र व्यक्तिगत सरसफाइ बानीको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सहयोग कार्यक्रम सञ्चालन गरिएको शितल छहारी नेपालले जनाएको छ। यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरणलाई थप बालमैत्री, समावेशी र प्रेरणादायी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।







