अ्मित पौडेल , धुनिबेसी न .पा धादिङ , जेठ  २५ ,२०८३

धुनिबेसी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। नगरपालिकाभित्रका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि औपचारिक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

नगरपालिकाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य तथा स्वास्थ्य शाखा प्रमुख ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित व्यक्तिहरूलाई प्रशंसापत्र तथा सम्मान चिन्ह प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि खोपको पहुँचबाट कोही पनि बालबालिका वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख पौडेलले पूर्ण खोप सुनिश्चितता घोषणा केवल उपलब्धि मात्र नभई यसलाई दिगो रूपमा कायम राख्नु थप जिम्मेवारी भएको बताउँदै सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे।

स्वास्थ्य शाखा प्रमुख ध्रुव अधिकारीले नगरपालिकाले नियमित खोप सेवा, अभिलेखीकरण तथा अनुगमनलाई प्रभावकारी बनाउँदै पूर्ण खोप सुनिश्चितता हासिल गरेको जानकारी दिए।

पूर्ण खोप सुनिश्चितता घोषणासँगै धुनिबेसी नगरपालिका बालबालिकाको स्वास्थ्य संरक्षण तथा रोग नियन्त्रणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने स्थानीय तहका रूपमा स्थापित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0