२३ महिनामुनिका १९९ बालबालिकाले पूर्ण खोप पाए, चालु वर्षमा १०६ संस्थागत सुत्केरी; स्वास्थ्य सेवामा उल्लेखनीय उपलब्धि
धादिङ २०८३ जेठ २८,
ज्वालामूखी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा पूर्ण संस्थागत सुत्केरी (घरमा सुत्केरी शून्य) पालिकाका रूपमा घोषणा भएको छ। गाउँपालिकामा आयोजित सुनिश्चितता तथा दीगोपना प्रमाणीकरण सभामार्फत उक्त घोषणा गरिएको हो।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार पालिकाभित्र जन्मेदेखि २३ महिनासम्मका १९९ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। चालु आर्थिक वर्षमा १०६ महिलाले संस्थागत सुत्केरी गराएका छन् भने ४२ जना गर्भवती तथा सुत्केरी महिलालाई गाउँपालिकाबाट प्रेषण (रेफरल) सेवा उपलब्ध गराइएको छ।
घोषणा कार्यक्रममा पालिका अध्यक्ष ले स्वास्थ्य  सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत विशेष व्यवस्था गरिने जानकारी दिनुभयो। उहाँले खोप, संस्थागत सुत्केरी, आमा सुरक्षा कार्यक्रम, पोषण सुधार, स्वास्थ्य सरसफाइ तथा बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई गाउँपालिकाले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले बालबालिकाको खोप प्राप्त गर्ने अधिकार नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खोप तालिका अनुसार सबै बालबालिकालाई खोप उपलब्ध गराउन तथा संस्थागत सुत्केरीलाई शतप्रतिशत सफल बनाउन ज्वालामूखी गाउँपालिकाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्नुभयो। उहाँले यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई दिगो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मातृ तथा शिशु स्वास्थ्य सुधारमा थप प्रभावकारी परिणाम हासिल गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0