धादिङ, असार २ , २०८३
जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत जिल्लाका ११ वटा गाउँपालिकाबाट प्रति पालिका एक विद्यालय छनोट गरी प्रत्येक विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत २ जना विद्यार्थी (एक छात्र र एक छात्रा) लाई सहभागी गराइएको थियो। सहभागी विद्यार्थीहरूलाई विद्यालयमा साथी शिक्षक (Peer Educator) का रूपमा कार्य गर्दै किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी आफ्ना सहपाठीहरूसम्म पु¥याउन आवश्यक ज्ञान र सीप प्रदान गरिएको जनाइएको छ।
जनस्वास्थ्य कार्यालय धादिङमा आयोजित अभिमुखीकरण कार्यक्रममा किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य, सरसफाइ, पोषण, लैङ्गिक समानता, सुरक्षित व्यवहार तथा स्वास्थ्य सेवाको पहुँचलगायत विषयमा सहजीकरण गरिएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल का अनुसार किशोरकिशोरीहरूलाई सही समयमा सही जानकारी उपलब्ध गराई स्वास्थ्यसम्बन्धी सचेतना वृद्धि गर्ने तथा विद्यालयस्तरमै स्वास्थ्य प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई विद्यालय र समुदायमा समेत विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनस्वास्थ्य कार्यालयले आगामी दिनमा पनि किशोरकिशोरी लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






