धादिङ, असार ३ — नीलकण्ठ नगरपालिका, हेफर नेपाल तथा एक्सन नेपालको सहकार्यमा सञ्चालित कृषि उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत उत्कृष्ट कृषि उद्यमी छनोट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
धादिङबेसीमा मंगलबार आयोजित कार्यक्रममा २५ जना कृषि उद्यमीमध्येबाट प्रारम्भिक रूपमा १० जना कृषक छनोट गरी उनीहरूले आफ्ना कृषि व्यवसायका अनुभव, संघर्ष र सफलताका कथाहरू प्रस्तुत गरेका थिए। सोही प्रस्तुतिकरणको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन जना कृषि उद्यमी छनोट गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा रोशनीका गुरुङ प्रथम, रामकुमार श्रेष्ठ द्वितीय तथा बुद्धिप्रसाद बुर्लाकोटी तृतीय हुन सफल भएका छन्। उत्कृष्ट घोषित तीनै जना कृषकलाई जनही ५० / ५० हजार रुपैयाँ नगद सहित सम्मान पत्र द्वारा पुरस्कार सहित सम्मान गरिएको थियो।
कार्यक्रममा कृषि क्षेत्रमा उद्यमशीलता विकास, आधुनिक कृषि प्रविधिको प्रयोग तथा व्यवसायिक कृषिमार्फत आत्मनिर्भरता प्रवर्द्धनमा योगदान पुर्‍याउने कृषकहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्य रहेको बताइएको छ।
विशेष रूपमा सम्मानित कृषकका श्रीमान–श्रीमती दुवैलाई संयुक्त रूपमा सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि क्षेत्रमा क्रियाशील सरोकारवाला निकायका प्रतिनिधि तथा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक संस्थाहरूले कृषि उद्यमलाई थप प्रभावकारी र दिगो बनाउन यस्ता कार्यक्रमले कृषकहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0