बद्री पौडेल ,धादिङ, असार ११ , २०८३

नीलकण्ठ नगरपालिका–८, अमरावतीस्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालय मा सामाजिक परीक्षण, विद्यालय व्यवस्थापन समिति गठन तथा अभिभावक भेला सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  हेम राज दाहालको (रमेश दाहाल) अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा देउराली माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक  खिल बबहादुर  धमला, वडा सदस्य छबीप्रसाद काप्री, नेकपा  का नवराज लम्साल ,एमालेका शालिग्राम दुवाडी लागतको उपस्थिति  रहेको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालयको विकासमा विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गर्दै आएको उल्लेख गर्दै आफू पनि निरन्तर विद्यालयको पक्षमा लागिरहेको बताउनुभयो। धादिङ जिल्लामै फरक प्रकृतिको विद्यालय वडा नम्बर ८ मा सञ्चालन हुनु गौरवको विषय भएको उल्लेख गर्दै उहाँले यससँग अवसर र चुनौती दुवै जोडिएको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी शीतल छहारी नेपालका अध्यक्ष कृष्णबद्री पौडेलले विद्यालयलाई संस्थागत तथा व्यक्तिगत रूपमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो।

देउराली माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक  खिल बहादुर  धमलाले विद्यालय स्थापना प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै बहिरा बालबालिकाको शिक्षाका लागि विद्यालयले खेलेको भूमिका उल्लेख गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले सांकेतिक भाषामार्फत कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने भाषा शिक्षिका निता कट्टेल अधिकारीले उक्त सांकेतिक भाषाको शब्दमार्फत अनुवाद गर्नुभएको थियो।

हाल विद्यालयमा ४१ जना बालबालिका आवासीय रूपमा अध्ययनरत रहेको जानकारी दिइएको छ। कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो।

यसैबीच, विद्यालय व्यवस्थापन समितिमा अभिभावक प्रतिनिधिका रूपमा तीन जना सदस्य चयन भएका छन्। चयन हुनेहरूमा यमनारायण श्रेष्ठ (नीलकण्ठ नगरपालिका–१४, धुवाँकोट), मिना गैरे (त्रिपुरासुन्दरी गाउँपालिका–४) र मानकुमारी श्रेष्ठ (नीलकण्ठ नगरपालिका–४) रहेका छन्।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीका अनुसार बाँकी दुई जना सदस्य नीलकण्ठ नगरपालिकाबाट मनोनयन भएपछि विद्यालय व्यवस्थापन समिति पूर्ण हुनेछ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पारदर्शिता र संस्थागत सुदृढीकरणका विषयमा समेत भेलामा छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0