धादिङ —१६ असार २०८३,  नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जे (हुलाक गाउँ) मा निर्माणाधीन स्वास्थ्य चौकी भवन लामो समयदेखि अलपत्र परेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ। पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनी सम्पर्कमा नआएको र निर्माण कार्य अघि नबढाएको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजनाले अन्तिम पटक पत्राचार गरिसकेको जनाएको छ।

आयोजनाका साइट इन्चार्ज इन्जिनियर लक्ष्मण यादवका अनुसार प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले स्थलगत अनुगमन गरी निर्माण कम्पनीलाई यथाशीघ्र काम सम्पन्न गर्न निर्देशन दिएपछि केही मात्रामा मार्बललगायतका निर्माण सामग्री साइटमा ढुवानी गरिएको थियो। तर त्यसपछि निर्माण कार्यले कुनै गति लिन सकेको छैन।

निर्माण कम्पनीलाई पटक–पटक सम्पर्क गर्न खोजिए पनि कुनै प्रभावकारी प्रतिक्रिया नआएको बताउँदै अब कानुनी प्रक्रिया अनुसार ठेक्का सम्झौता अन्त्य (ठेक्का तोड्ने) गर्ने तयारी भइरहेको इन्जिनियर यादवले जानकारी दिए।

यसअघि त्रिकोण खबर अनलाइनले फागुन २६ गते भवन अलपत्र परेको विषयमा फोटोसहित समाचार प्रकाशित गरेको थियो। समाचार सार्वजनिक भएपछि सांसद श्रेष्ठले यो विषयलाई गम्भीर रूपमा लिँदै स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा सासद श्रेष्ठले वडा नं ५ का वडा अध्यक्ष हरि अधिकारी तथा कटुञ्जे स्वास्थ्य चौकी प्रमुख मधु धमला क्षेत्रिलाई र निर्माण व्यवसायीलाई ढिलाइ नगरी काम सम्पन्न गर्न निर्देशन दिएका थिए। तर सांसदको निर्देशनपछि पनि निर्माण कार्य प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

२०७६ सालमा टेन्डर प्रक्रिया सुरु भई निर्माण थालिएको उक्त स्वास्थ्य चौकी भवन २०७९ सालयता लगभग ठप्प अवस्थामा छ। अधुरो भवनका कारण स्थानीयवासीले अझै पनि जीर्ण प्रिफ्याब भवनबाट स्वास्थ्य सेवा लिन बाध्य हुनु परेको गुनासो गरेका छन्। स्थानीयका अनुसार नयाँ भवन समयमै सम्पन्न नहुँदा सेवा प्रवाहमा असहजता मात्रै नभई बिरामी र स्वास्थ्यकर्मी दुवैले जोखिमपूर्ण अवस्थाको सामना गर्नुपरेको छ।

काठमाडौँको बानेश्वरस्थित रविनाअविशाविकोन जेभी ले २०७७ फागुन २० गते ठेक्का सम्झौता गरी २०८१ असोज ७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। ७ करोड ६२ लाख ३५ हजार ८ सय ४१ रुपैयाँ लागतमा भएको उक्त सम्झौताको समयसीमा सकिइसकेको छ। आयोजनाका अनुसार हालसम्म स्वास्थ्य चौकी भवन निर्माणमा २ करोड ७२ लाख ८९ हजार ५ सय ४१ रुपैयाँ खर्च भइसकेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार हालसम्म भवनको भौतिक प्रगति जम्मा ५५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ३६ प्रतिशत मात्रै रहेको छ। सम्झौता अवधि समाप्त हुँदासमेत अपेक्षित प्रगति हुन नसकेपछि आयोजना कार्यालयले ठेक्का व्यवस्थापनसम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

स्थानीयवासीले भने वर्षौंदेखि अधुरो बनेको स्वास्थ्य चौकी भवन छिटो सम्पन्न गरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले पटक–पटकको अनुगमन, निर्देशन र ताकेतापछि पनि निर्माणले गति नलिनु दुःखद भएको भन्दै अब प्रभावकारी निर्णय र कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0