ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएर भ्रष्टाचार गरेको बहुचर्चित मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ । विशेष अदालतको आदेशअनुसार सबै निकायबाट कागजपत्र आइपुगेपछि मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो ।
विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो बहुचर्चित मुद्दाको सुनुवाइ सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजक रहेको समितिको प्रतिवेदनकाे आधारमा अख्तियारले मुद्दा चलाएको हो । पूर्वमन्त्री, पूर्वसचिव तथा प्रभावशाली व्यापारी प्रतिवादी रहेको यो मुद्दामा एक सय ७५ जना प्रतिवादी छन् ।






