धादिङ । धादिङमा राष्ट्रिय स्तरको प्रथम सुमन स्मृति खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ। देशैभरिबाट प्रतियोगितामा सहभागी हुन पाउने गरी धादिङमा पहिलोपटक राष्ट्रिय स्तरको खुल्ला फुटबल प्रतियोगिता हुन लागेको हो।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको खुल्ला मञ्चमा २०८१ फागुन १२ देखि १७ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिता 9 A SIDE को रूपमा सञ्चालन हुनेछ ।
धादिङमा जन्मिएर फुटबललाई व्यवसायिक रुपले अघि बढाउँदै गर्दा निधन हुनुभएका खेलाडी सुमन श्रेष्ठको सम्मान स्वरुप नामाकरण गरिएको क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले बताए ।
‘युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, फुटबल खेलको लोकप्रियता वृद्धि गर्नु र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्नु हाम्रो मूल उद्देश्य हो’, क्लवका अध्यक्ष भण्डारीले भने–‘यो प्रतियोगितामा जहाँसुकैबाट जुनसुकै क्ववले सहभागी हुन पाउनेछ । खेलाडीको उमेर र स्थानले प्रतियोगितामा सहभागी हुन रोक लगाइएको छैन । प्रतियोगितामा सहभागी हुने टिमले विदेशी खेलाडी पनि राख्न पाउनेछ ।’
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ७५ हजार, दोस्रोले ७५ हजार तथा सेमिफाइनलमा पुग्ने अन्य दुई टिमलाई २५ हजार रुपैंया नगद प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । धादिङ जिल्लामा भएका खेलकुद प्रतियोगितामध्ये यो नै सर्वाधिक पुरस्कार राशी भएको आयोजकको दावी छ । यसैगरी प्लेयर अफ टुर्नामेन्ट र अन्य विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
धादिङ फुटबल क्लवले मंगलबार पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिताकै बीचमा खुला पुरुष म्याराथुन पनि आयोजना गरिएको जानकारी दिएको छ । म्यारुथुनमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइनेछ ।






