ईश्वर थापा मगर
धादिङ, ४ फागुन २०८१ – तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह “तामाङ आन” पुस्तकको भव्य विमोचन समारोह आज सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रममा नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष दिपक लाेप्चन तामाङको सभापतित्वमा विमोचन कार्यक्रम भएको हो , पुस्तकले तामाङ भाषा र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने अतिथिहरुले बताउनुभयो।
तामाङ भाषा, अङ्ग्रेजी भाषा, र सम्भोटा लिपिमा लेखिएको यो पुस्तक तामाङ भाषा नबुझ्ने पाठकहरूले समेत पढ्न सक्ने गरी तयार पारिएको छ। पुस्तकका लेखक वावुराम फ्युबाका अनुसार, डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा क्युआर कोड समावेश गरिएको छ, जसलाई स्क्यान गरी पाठकहरूले इलेक्ट्रोनिक पेजमा पढ्न र अडियो स्वरूपमा सुन्न सक्नेछन्।
विमोचन कार्यक्रममा गङ्गा जमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले तामाङ भाषा, संस्कृति, र साहित्यलाई संरक्षण गर्न यस्ता पुस्तक प्रकाशन आवश्यक रहेको बताए। उनले लेखकहरूलाई तामाङ भाषामा थप सिर्जनशील भएर लेखन समेत अभिप्रेरित गर्नुभयो ।

कार्यक्रमका टिप्पणीकारहरूले पुस्तक प्रकाशन गर्दा सकारात्मक उखानहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए। रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ, र त्रिकोण खबर डट कमका प्रबन्ध निर्देशक कृष्ण बद्री पौडेलले पुस्तकको महत्त्वबारे आफ्ना धारणा व्यक्त गर्दै पुस्तक माथी टिप्पणी समेत गर्नुभएको थियो।
यस पुस्तक विमोचन कार्यक्रम धादिङ जिल्लाको तामाङ भाषामा पहिलो औपचारिक पुस्तक विमोचन कार्यक्रम भएको बताइएको छ। पुस्तकले तामाङ भाषा तथा संस्कृतिको जगेर्ना गर्ने विश्वास गरिएको छ।







