धादिङ, २०८२ बैशाख ९ गते — थाक्रे गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर र विश्वास बढाउने उद्देश्यले एक महत्वपूर्ण निर्णय गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले २०८२ साल बैशाख ७ गते बसेको १४० औं बैठकमार्फत गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आफ्ना सन्तान अनिवार्य रूपमा सामुदायिक विद्यालयमै भर्ना गरि पठनपाठन गराउनुपर्ने निर्णय गरेको हो।

थाक्रे गाउँपालिका वरिष्ठ विद्यालय निरीक्षक दुर्गा देवी खड्काद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरी पठनपाठन गराउन भनिएको छ। सूचना अनुसार यो कदमले सामुदायिक विद्यालयप्रतिको जनविश्वास अभिवृद्धि गर्नुका साथै सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार, यस्तो निर्णयले सामुदायिक विद्यालयमा समानता, पारदर्शिता र जवाफदेहिताको भावना विकास हुने आशा गरिएको छ। साथै, जनप्रतिनिधि र शिक्षकहरूले आफ्नै सन्तानलाई सामुदायिक विद्यालयमा पढाउँदा विद्यालयको शैक्षिक वातावरणमा प्रत्यक्ष सुधार आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0