गाेपाल फ्युबा तामाङ
|
एक विरयानी साँझ । म काडमाडाैंकाे स्वयम्भू नजिक काकाकाे घरमा छु । म तामाङ भाषा र यसमा मेराे याेगदान के हुन सक्छ ? त्यही प्रश्नकाे सेराेफेराेमा थिए । अस्ति नुवाकाेटमा शब्द सङ्कलन त हिजाे तामाङ लिपि डिजिटलाइज्ड गर्न सघाउने तामाङलिपि डट कम का निर्मातासँगकाे कफी बैठक । यसरी नै चलिरहेकाे थियाे । अँ, त्याे साँझ काका र म गफिदै थियाै, परम्परागत तामाङ शब्दकाेष सङ्कलनकाे लागि । मङ्ग तामाङजीकाे म्यासेन्जर कल अायाे । सिङ्ल्ह मेलाकाे याेजना बनायाैं, दिनेश तामाङजीकाे कुरा सुन्याैं अनि । २०८२ बैशाख २७ देखि २९ सम्म सिङ्ल्ह मेला अायाेजना सिङ्ल्ह क्षेत्र विकास समाजले गर्ने निधाे भाे । |
सिङ्ल्हको सुन्दरतामा भुलिँदा ।
गाेपाल फ्युबा तामाङ
अचेल समाजमा निराशा छ, अत्यास छ र अवसाद छ । अझ यसकाे ग्राफ निरन्तर बढ्दो छ। आम मानिसलाई बेखुसी र उदासीले छोपेको छ । उनीहरू जति चाडाे सकिन्छ देश छाड्ने ध्याउन्नामा छन् । घुम्नलाई अनेकन सम्भाव्य स्थानीय स्थानहरू नजिकका तिर्थ हेला भनेझै अासपासका पूरातात्विक, सांस्कृतिक धार्मिक तथा अाध्यात्मिक केन्द्रहरूकाे महत्त्व खााेजेकाे छैन । यसैले अध्ययन हेतु बि.सं.२०६१ मा फ्युकुरी यात्रा गरेकाे थिए । त्यस पश्चात् भने गंगाजमुना, पेन्तिस्या, डुब्च्यु, पङसङ, गाेम्बाेजाेङ, डबजाेङ अादि स्थानहरू गएकाे छु , यानेकी अध्ययन यात्रा निरन्तर छ ।
निरसताकाे वावजुत नेपाललाई अर्को पाटोबाट हेर्दा प्राकृतिक सुन्दरताले सिँगारिएको देख्दछाैं। शान्त रहन र सम्यक् हुने प्रेरणा दिइरहेको छ । गरिखाने प्रेरणा दिइरहेकाे छ । ठगि खान, बसिखान र मागि खान बर्जित गरिरहेकाे भान हुन्छ । थाेरै परिश्रममा धेरै प्रतिफल दिइरहेकाे छ ।
सिङ्ल्हकाे अनेकपटक यात्रा गरेकाेमा यसपटककाे यात्रा भने पर्यटकीय अध्ययन, धार्मिक तथा अाध्यात्मिक प्रयाेजन नै थियाे । पहिलाेपटक मिलन साहित्य अभियानकाे नाममा ८ जना अन्य साथीहरूसँग सिङ्ल्हकाे भूगाेल टेक्न पुगेका थियाैं । दाेस्राेपटक लालीगुराँसका विभित प्रकार र हिउँ हेर्न पुगेका थियाैं । यसरी पटक पटक यात्राकाे क्रममा पुग्दा के अनुभव भयाे भने काठमाडौंबाट नजिकैको सिङ्ल्ह प्राकृतिक ऐश्वर्यको अनुपम उपहारबाट सुशाेभित छ, त्यसैले स्वयं, संसार र परमात्माको अनुभव निकट पुग्ने एउटा शाैभाग्यशाली माध्यमका रूपमा पनि सिङ्ल्हलाई लिन सकिन्छ।
नेपाली हिमशृङ्खला र त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको विभिन्न पक्षकाे चित्रण थुप्रै विद्वानहरूले आआफ्नो तवरबाट गरेका छन् । तर थोरैले यसको धार्मिक र आध्यात्मिक पाटोलाई औंल्याएका छन् । हुन त नेपाली हिमशृङ्खलाको वर्णन वा दृष्टान्त वेदमा पनि ठाउँठाउँमा पाइन्छ, तर त्यसको आध्यात्मिक पाटोलाई अहिलेको समाजले त्यति महत्व दिएको पाइँदैन। तर, हिमालको यात्रालाई ‘यात्रा’ वा अनुभूतिका आधारमा हेर्ने हो भने यी हाम्रा हिमालहरू हिमाल मात्र होइनन्, देवदेवीका वासस्थान पनि हुन् । नेपाली हिमालका हिमचुचुरो र त्यसको फेदमा बसेको थलो जसलाई लामा, बाेन, अवतारी, ऋषि र योगीहरूको एकान्त साधना थलोका रूपमा लिइएको छ। त्यसैले सबै हिन्दु, सनातनी बाेन एवम् बौद्धमार्गीहरूका लागि नेपाली हिमशृङ्खला हिउँले भरिएको चुचुरो मात्रै होइनन्, ती हिमालको फेदका गाउँ, अप्ठ्यारो ढुंगाका खुट्किला, कठिन बाटोबाट हिँडेर पुग्ने पुरातन माटाे र ढुङ्गाकाे थुप्राे मात्रै होइनन् । ती गाउँमा भएका पारम्परिक घरहरू साना अप्ठ्यारा वासस्थान मात्रै होइनन् । समग्रमा नेपालीका लागि आदर्श पनि हुन् । सामाजिक, धार्मिक र सांस्कृतिक केन्द्रकाे रुपमा व्यवस्थित पनि छन् । वास्तवमा ती संरचना र त्यहाँ बस्ने मानिस परापौराणिक कालदेखि मानव विकासको कथाका कथाकार पनि हुन् । हिमालको फेदमा रहेका मानव बसोबास हाम्रो पौराणिक उपस्थितिका आधार पनि हुन्। हामी गौरीशंकर, गणेश, रोल्वालिङ, लाङटाङ, पल्दाेर, आमायाङ्ग्री, जुगल वा अन्नपूर्ण हिमालका कुरा गर्दा, ती हिमालका फेदमा बसेकाहरू हाम्रा धार्मिक, ऐतिहासिक, सांस्कृतिक कथाका प्रतिबिम्ब पनि हुन्।
जस्तै–गौरीशंकर हिमाललाई हामी भगवान् शिव र पार्वतीको बिहेपछिको पहिलो वासस्थानका रूपमा बुझ्ने गरेका छौं। हाम्रा धर्मग्रन्थहरूमा गौरीशंकर हिमाललाई देवतुल्य मानेको छ। त्यसका केही दृष्टान्त कालिदासरचित कुमारसम्भवमा पनि पाइन्छ।
त्यस्तै गणेश हिमाल र त्यसको फेदमा रहेको सिङ्ल्ह विस्तृत सिङ्ल्ह उपत्यका जसलाई अहिले रुबिभ्याली, खनियाबास र किस्पाङ गाउँपालिकाले स्थापित गरेको छ। गुरु पद्मसम्भवकाे ध्यान याेगका साथै घाममा विलय हुन जानुभएकाे पवित्र स्थानकाे रुपमा बुझ्ने गरिन्छ किंवदन्तीमा सिङ्ल्ह वरिपरिको भूभागलाई देवदेवीको खेतीकिसानी, खाद्यान्न उत्पादन गर्ने थलोका रूपमा पनि चिनिएको छ।
स्थानीय किंवदन्तीमा सिङ्ल्ह तामाङ भेडापालक सिकारीले पत्ता लगाएको एउटा आध्यात्मिक क्षेत्र हो। उनकाे भेडाको क्षति कम गर्ने उपाय खाेज्दा सिङ्ल्ह भेटिएकाे कथन पनि छ । अझ बाेतह्युलबाट अाएका ती गाेठालाे समूहसँग गाँसिएर अनेकन मिथक तथा कहावतहरू व्याप्त छन् । ती सिकारीले राती सपनामा साक्षात देवी र उनका गणहरूलाई खेतीबाली ओसारेको कथा छ। त्यसैले सिङ्ल्हको फेदमा बस्ती बसाल्ने तामाङको कथामा सिङ्ल्ह आध्यात्मिक र धार्मिक थलो हो, जो उनका पशुपालक सिकारी पुर्खाले पत्ता लगाएका हुन्। ऐतिहासिक किर्पा ख्लङ्बा चेमाे त्यही शिकारी तान्त्रिक गाेठालाे उनकाे कुकुर र बँदेलसँग सम्बन्धित मिथकमा अाधारित नाटक हाे ।
सिङ्ल्ह स्थानीय तामाङरूको दाेङह्रप चेतनामा २५०० देखि ३००० वर्ष पुरानो मानिन्छ। अहिले “सिङ्ल्ह फाे ज्यवासिङकि ल्हई दामाे” क्षेत्र तामाङ लगायत अरू समुदायका लागि पनि आध्यात्मिक क्षेत्रका रूपमा स्थापित भएको पाइन्छ।
अहिले सिङ्ल्ह कुङकरका रूपमा अवस्थित छ । कुङ्करकाे अासपासमा केही अरू साना कुङ्करहरू स्थापित गरिएको छ । सिङ्ल्ह काठमाडौंबाट नजिकको आध्यात्मिक गन्तव्य हो । यो बाेन तथा बुद्धमार्गीका लागि पनि त्यत्तिकै पवित्रस्थल हो किनकि यहाँ गुरु पद्मसम्भवले ध्यान, याेग र साधना गरेको पाइन्छ ।
ल्हप्सङकर्पाे क्षेत्रमा गुरु पद्मसम्भवले साधना गरेको गुफा बुद्धमार्गीका लागि पवित्रस्थल मानिन्छ। यो क्षेत्र फेरि पनि पवित्र मानिएको छ किनकि बोन धर्ममा रहेकाे विकृतिलाई शुद्धिकरण र समन्वय पद्मसम्भवले यही क्षेत्रमा गरेका थिए र बुद्धको ज्ञानलाई साधनाका लागि अझै उचाइमा पुर्याउने काम पद्मसम्भवले गरेका थिए।
यो क्षेत्र हाम्रा ज्ञानी पुर्खाको पवित्र थलो पनि हो। त्यसैले यो हाम्रा लागि पवित्र र प्रेरणा क्षेत्र पनि हुन सक्छ। तसर्थ बाेन धर्मलाई हिमाल-धर्मका रूपमा पनि विकसित गरियो र सिङ्ल्ह बाेनको कर्मथलो भएको हुँदा, तामाङ र किरातहरूका लागि पनि पवित्रस्थलका रूपमा लिइएको छ। बाेनसँग शिवकाे सामन्यीकरण, समानीकरण र पर्यायवाचीकाेरुपमा अन्य समुदायले लिने गर्दछन् । तर बाेनले वन झाँक्री (लाेङ्य)सँग ज्ञान लिने र सहयाेग लिने गर्दछन् भन्ने मान्यता छ ।
अझ सिङ्ल्हको यात्रालाई तान्त्रिक सिद्धिका लागि फलीभूत गर्ने थलोका रूपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ। जस्तै- गाेनेङ्य अर्थात साउन पुर्णेको दिन सिङ्ल्हमा ठुलो मेला लाग्छ। त्यसदिन नव बाेम्पाेहरू दीक्षित हुन जान्छन् भने पाका बाेनहरू सिद्धि प्राप्ति र शक्ति अार्जनका लागि जान्छन् ।
विशेषगरी साधकले उसको साधनालाई अर्काे उचाइमा पुर्याउन त्यो दिन धामीझाँक्रीहरूले परिक्रमा निकाल्ने गरेका छन् र त्यो दिन त्यहाँ विशेष तान्त्रिक साधना गरे सिद्धि प्राप्त गर्ने तान्त्रिकहरूको विश्वास छ। नयाँ बाेम्बाेहरूलाई साे दिन दिक्षित गर्ने गरिन्छ त्यसलाई ङ्हयु चुङ्प भनिन्छ ।
त्यसैगरी अरू साधकहरू साे दिन त्यहाँ विशेष पूजाअर्चना गर्ने गरेका छन्। ती मानिसलाई ज्ञानको बाटोमा पुर्याउने विश्वास छ। यस आध्यात्मिक चेतना उजागर गराउने एउटा उदाहरण छ्याेयाेङ बाेम्बाे(तामाङ) हुन्, जाे अाेङगुल गाउँमा बस्दछन्, खासगरी सिङ्ल्हको यात्रा काठमाडौं धादिङवेशी वा नुवाकाेटबाट सजिलै गर्न सकिन्छ।
यो धादिङ जिल्लाको ल्हप्सङकर्पाे हिमाल शृङ्खलाको फेदमा अवस्थित छ। यी दुई प्रसिद्ध धार्मिक–पर्यटकीय क्षेत्र फ्युकुरी र गिलिङचाेको छेउमा छन्। गणेश, लामटाङ लगायत थुप्रै हिमालको चुचुरो यहाँबाट नजिकै देख्न सकिन्छ। भने काठमाडाै उपत्यकालाई पनि नियाल्न सकिन्छ ।
काठमाडौंको बालाजुबाट थानकाेट हुँदै फुर्के खाेला काटेर तिन घण्टामा धादिङबेसी पुगिन्छ र त्यहाँबाट चार घण्टाको जिपयात्रा गरेर झार्लाङ (जर्नङ) पुग्न सकिन्छ। जर्नङबाट चार–पाँच घण्टाको उकालोपछि मचेत खर्क पुगिन्छ। त्यहाँबाट एक घण्टामा सिङ्ल्ह डाँडा पुग्न सकिन्छ।
छ्याेयाेङ आफू पनि झाँक्री हुन् र उनी ९ वर्षको उमेरदेखि नै सिङ्ल्हको जंगलमा गाेठमा बसेकाे बताउँछन्। त्यसपछि धेरैजसो हिमालको आधार क्षेत्रको यात्रा गरे र अहिले ४९ वर्षको हुँदा पनि सिङ्ल्ह र बाेन सभ्यताबारे बताउन तयार छन्, बताइरहन्छन् । सिङ्ल्हकाे यात्रा गर्ने श्रद्धालुलाई खाना र आराम-विश्राम गर्ने व्यवस्था मिलाएर सेवा दिइरहेका छन्। उनी भन्छन्,
“सिङ्ल्हले मानवीय चेतनालाई निरन्तर माझिरहेको छ र यहाँ बस्न शारीरिक, मानसिक र आध्यात्मिक तीनै प्रकारबाट मानिस समृद्ध हुनुपर्छ। सक्षम हुनुपर्छ ।मानिसलाई सिङ्ल्हको आध्यात्मिक यात्रामा सघाउनुको आनन्द बेग्लै छ। यहाँ आउने र वास बस्ने मानिसका थुप्रै प्रश्न हुन्छन्। कुनै प्रश्नको हामीसँग उत्तर हुँदैन। तर ती सबै प्रश्न मेरो साधनाका लागि उपयुक्त छन्। ती प्रश्नप्रतिको साक्षीभावले नै मलाई मेरो साधनामा सघाएको छ। मान्छे यति डाँडा उक्लिँदा पनि खानाको परिकारका बारेमा सोध्छन् तर ती प्रश्नले मलाई विचलित गर्दैनन्। ती प्रश्न मेरा सहयोगी हुन्।”
२०८१ को भदाैपूर्णिमामा गरेको सिङ्ल्हको यात्रा प्रकृतिको अनुपम सुन्दरता र सौन्दर्यलाई नजिकबाट नियाल्ने दृष्टान्त नै बन्यो। यात्राअनुभव उल्लेख्य रह्यो।
त्यो यात्रा सरल भने थिएन। यात्राका क्रममा अझै कति उकालो उक्लिनुपर्छ? भन्ने प्रश्न उब्जिरह्यो। के मसँग शारीरिक क्षमता छ, जसले मलाई गन्तव्यमा पुर्याउँछ? तर, त्यसको उत्तर उकालो उक्लँदा विचारशून्यतामा विलीन हुँदै गयो। महत्वपूर्ण सिकाइ के थियो भने यात्राको क्रममा र निरन्तर उकालो उक्लिने क्रममा कति पीडा भयो, त्यो गौण रह्यो र त्यो शारीरिक पीडालाई कसरी आनन्दको कथामा परिणत गर्ने वा अनुभूतिमा प्रष्ट्याउने भन्ने प्रश्न नै प्रमुख भयो।
ती अथक प्रयासलाई खुसीमा परिणत गर्ने र त्यसको अनुभूति नै आध्यात्मिक यात्राको सार तत्वका रूपमा बाहिरियो, जसलाई छ्याेयाेङले पनि उजागर गरेको थियो। यसैले कठिन सिकाइलाई खुसी, सुख र आनन्दमा परिणत गर्नु र त्यसको अनुभूति गर्नु नै यात्राको सारतत्व हो।
हामीले आफैंलाई सुनिराखेका छौं कि छैनौं? हामीले हाम्रा वरिपरिका मानिस र प्रकृतिलाई नजिकबाट बुझेका छौं कि छैनाैं? यी प्रश्नलाई यो यात्राले प्रस्ट्याउँछ। जबसम्म मानिसमा यो क्रम सुरु हुँदैन, हामी एउटा खोजीको निरर्थक बाटोलाई अँगालिरहेको हुन्छ। हिमालको यात्रा यस्तो प्रारम्भिक बाटो हो, जसले स्वयंको खोजीमा सघाउँछ। तसर्थ जीवन, जगत्, ईश्वर र त्यसको सन्तुलन एवम् मौलिकता नै यात्रा हो।
चेतना–विकासको एउटा क्रम छ र त्यसको सुरुवात–बिन्दु अनुशासन हो। क्रमबद्धताले अन्ततः मानिसलाई साधनामा पुर्याउँछ। यस्तो कार्य चेतनाको उद्गममा पुग्ने प्रयास पनि हो। त्यो मानिसलाई शरीर, मन र विचारको उद्गममा पुर्याउने प्रयास पनि हो। त्यसैले हिँडाइ आफ्नो क्षमताको विसर्जन पनि हो र त्यसले मानिसलाई समर्पणमा लग्छ।
सिङ्ल्ह ल्हप्सङकर्पाे सभ्यताको उद्गमस्थल पनि हो। त्यहाँको हिँडाइ कठिन छ तर आनन्ददायी छ। जब क्षमताको विसर्जन हुन्छ, श्रद्धाको आविर्भाव हुन्छ र त्यसले विचारशून्यतामा पुर्याउँछ।
सिङ्ल्ह यात्रा साधकका लागि साधनाको साधन पनि हो। यात्राको नैसर्गिकतालाई जोगाएर यो साधनलाई (यात्रालाई) कसरी निरन्तरता दिने भन्ने चिन्तनको आवश्यकता छ ताकि यात्रा हाम्रा लागि एउटा घटना मात्रै नभईकन सम्पूर्ण रूपान्तरणको कारक बनोस्। सिङ्ल्ह यात्रा पनि यस्तै आध्यात्मिक लक्ष्य हो र यसलाई हामीले निरन्तर सिञ्चित, पल्लवित र पुष्पित गरिराख्नुपर्छ।
* * * *
अाज बुद्ध जयन्तीकाे दिन प्रथम सिङ्ल्ह मेला २०८२ भव्यताकासाथ सम्पन्न भएकाे छ । वर्षामासमा हुने गाेनेङ्य मेलामा पुग्न नसकेकाहरूकाे लागि याे समय उचित हुने देखिन्छ । फरक अनुभूति लिन त हरेकपल्ट गइरहनुपर्छ । जान्छु भन्दाभन्दै म काम विशेषले जान पाइन । थकथक लागिरहेकाे छ । अर्को अर्काे अवसरहरू पनि त अाउँलान् । त्याे समय मेराे पनि दिन अाउला । त्यतिखेर अझ खाेतलाैला मनकाे गहिराइ । आजलाई यत्ति ।
(लेखक फ्युबा इतिहास, संस्कार, संस्कृति, पर्यापर्यटन र लाेकसाहित्यमा निरन्तर कलम चलाउने अनुसन्धानकर्मी हुन् ।)






