ईश्वर थापा मगर
धादिङबेसी,
धादिङ –जिल्ला प्रशासन कार्यालय धादिङको आयोजनामा बुधबार धादिङबेसीमा लागुऔषध नियन्त्रण, आत्महत्या रोकथाम तथा विपद् जन्य पूर्वतयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको संयोजकत्वमा सम्पन्न भएको हो।

कार्यक्रमको क्रममा धादिङ जिल्लामा सञ्चालनमा रहेको तीन महिनाको लागुऔषध नियन्त्रण अभियानको समिक्षा समेत गरिएको थियो। अभियानले जिल्लामा लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न उल्लेखनीय प्रभाव पारेको जानकारी कार्यक्रममा प्रस्तुत गरियो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले हाल समाजमा फैलिँदै गएको विकृति र आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले आत्महत्या र लागुऔषध दुबैले समाजमा गम्भीर असर पारिरहेको बताउँदै यस्ता समस्याहरू सामूहिक प्रयासबाट समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले आत्महत्या जस्तो संवेदनशील विषयमा समाचार तयार गर्दा पत्रकारहरुले विशेष संवेदनशीलता अपनाउनु पर्नेमा जोड दिनुभयो। साथै, आत्महत्याको कारण पहिचान गरी दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र विपद् पूर्वतयारीमा सबै क्षेत्रको समन्वयात्मक पहल आवश्यक रहेको धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0