धादिङ, २०८२ जेठ २० – सेवा प्रयोगकर्ताबाट Pathao तथा InDrive राइडरहरूले बढी भाडा असुलेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय धादिङले विशेष कारवाही थालेको छ। प्रहरीद्वारा गरिएको चेकजाँचमा विभिन्न स्थानहरूबाट राइडरहरूले तोकिएको भन्दा बढी भाडा लिएको पुष्टि भएपछि ४ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले चेकजाँच गर्दा ती सवारी साधनहरूले यातायात व्यवस्था ऐन २०४९ उल्लङ्घन गरेको पाइएपछि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुबास हमालले जानकारी दिनुभयो।
कारवाहीपछि ती सवारी साधनहरू कानुनी प्रक्रिया पुरा गरी छाडिएको जनाइएको छ। यसै क्रममा प्रहरीले यस्ता गतिविधिमा संलग्न नहुन र सेवा प्रयोगकर्तासँग ठगी गर्नेलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याएको छ।
प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरूको तस्बिर समेत सार्वजनिक गरेको छ।






