धादिङ – उत्तरी धादिङको नेत्रावती डवजोङ गाउँपालिका–४ स्थित ऐतिहासिक महत्व बोकेको हिरक पार्कमा वृक्षारोपण गरिएको छ। निर्माणाधीन अवस्थामा रहेको पार्कलाई व्यवस्थित गर्दै पूर्णता दिनका लागि वृक्षारोपण गरिएको हो।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार पार्क तथा आसपासका क्षेत्रमा करिब चार हजार विरुवा रोपिएको छ। “पार्कमा कपुर, असोक, ज्याक्रान्डा, कल्फी, सयपत्री, गोदावरी, असारे लगायतका फूल प्रजातिका करिब ३ सय विरुवा, ४५० बाँस र ३ हजार अम्रीसो रोपिएका छन्,” उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार पार्कलाई सामुदायिक वनमार्फत स्टोर हाउस, कफी हाउस, पाले घर, टिकट घर, विश्रामस्थल निर्माण गरी ऐतिहासिक १५ कोष समेट्ने गरी विकसित गर्ने योजना रहेको छ।

पार्कको शिलान्यास प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग यात्राका क्रममा गर्नुभएको थियो।

नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीका अनुसार निर्माणाधीन पार्कलाई व्यवस्थित गर्दै अब पूर्णता दिने चरणमा काम भइरहेको छ। त्यस्तै, नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले पार्कको संरक्षणका लागि हेरालु राख्ने र पालिकाबाट आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष रिजालका अनुसार, “हिरक पार्क पर्यटकीय दृष्टिले महत्वपूर्ण मात्र होइन, स्थानीयको आयआर्जनसँग पनि जोडिएको स्थल हो। सोचेअनुसारको बजेट अभावले कार्यमा ढिलाइ भए पनि यसको प्रवर्द्धन र विकासमा स्थानीय सरकार दृढ छ।”

पार्कको निर्माणका लागि बागमती प्रदेश सरकार अन्तर्गत पर्यटन विकास आयोजना, हेटौंडाबाट २८ लाख, र डिभिजन वन कार्यालय धादिङबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भई कुल ३८ लाख रुपैयाँको लगानीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

स्थानीय बासिन्दाका अनुसार, १५ कोष पृथ्वीनारायण शाहको पालामा हनुमान ढोकामा फूलपाती भित्र्याउने बेलामा लमजुङ, तनहुँ र गोर्खाका मानिसहरू काठमाडौं आउँदा–जाँदा विश्राम र खाजा खाने स्थलका रूपमा प्रयोग हुने गर्दथ्यो। त्यहाँ तारा खसेको ढुंगा, चौरीको खुर भेटिएको जस्ता ऐतिहासिक तथ्यहरू रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0