धादिङ, असार २४ – नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द हुँदा धादिङ अस्पतालसमेत प्रभावित भएको छ। नियमित उपचारका लागि आएका १४३ जना बिरामीको टिकट काटिएपछि अस्पतालले आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेको हो।
“हामीले आज टिकट काटिसकेका बिरामीलाई इमर्जेन्सीमा राखेर सेवा दिएका छौं, तर अन्य सम्पूर्ण सेवा आन्दोलनका कारण बन्द छ।” धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले बताए ।
नेपाल चिकित्सक संघले न्यायालयद्वारा चिकित्सकहरूलाई दिइएको व्यवहारप्रति आपत्ति जनाउँदै आन्दोलन चर्काइरहेको छ। उपभोक्ता अदालतले उपचारमा लापरवाहीको आरोपमा चिकित्सक तथा अस्पतालहरूलाई क्षतिपूर्ति तिराउने आदेश दिन थालेपछि चिकित्सकहरू आन्दोलित भएका हुन्।
स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको हुँदा यस्ता आन्दोलनबाट सर्वसाधारण सर्वाधिक प्रभावित हुने गरेका छन्। आजको सेवा बहिष्कारका कारण धेरैजना बिरामी अलमलमा परेका छन्। कतिपय बिरामी बिहानैदेखि अस्पतालमा सेवा लिन आएपनि फर्कन बाध्य भएका थिए।
संघले चेतावनी दिँदै भनेको छ, “चिकित्सकमाथिको दण्डात्मक व्यवहार बन्द नगरिएसम्म आन्दोलन थप चर्किनेछ।” संघले कानुनी एवं व्यवस्थापकीय सुधारको माग गर्दै सरकारसँग वार्ता गर्न तयारी देखाएको छ।






