काठमाडौं, साउन १ ।
आज साउने संक्रान्तिको अवसरमा देशभर हिन्दू तथा बौध्द धर्मावलम्बीहरूले धार्मिक आस्था र परम्पराअनुसार पर्व मनाइरहेका छन्। साउन महिनाको पहिलो दिन पर्ने यो संक्रान्तिलाई गर्मीजन्य रोग–व्याधि हटाउने, शरीर शुद्ध बनाउने र पुण्य कमाउने विशेष दिनको रूपमा लिइन्छ।
हिन्दू पात्रो अनुसार सूर्य आजको दिन कर्कट राशिमा प्रवेश गर्ने भएकाले यो दिनलाई ‘साउने संक्रान्ति’ भनिन्छ। विशेषगरी आजको दिन लुतो फाल्ने परम्परा प्रचलनमा रहेको छ। शरीरमा जम्मा हुने चर्मरोग, ज्वरो, वा अज्ञात प्रकारका रोगहरूलाई ‘लुतो’ भनिन्छ। त्यसैले तोरीको तेल, मरिच, लसुन, अदुवा जस्ता सामग्री प्रयोग गरेर शरीरमा मालीस गरी त्यसलाई आगोमा फाल्ने चलन रहेको छ। यसरी लुतो फाल्दा शारीरिक अशुद्धता हट्ने र नकारात्मक ऊर्जा निस्कने विश्वास गरिन्छ।
साउने संक्रान्तिमा बिहानै शुद्ध जलश्रोतमा स्नान गरी पूजा–पाठ गर्ने परम्परा छ। साथै ब्राह्मण, गरिब, वृद्ध तथा असहाय व्यक्तिलाई घ्यु, तेल, फलफूल, अन्न जस्ता सामग्री दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
साथै बेलुका पख घरको अगाडी आगनमा अगुल्टो बालेर मकैको बोट , खनायो , अ्मिलो, आरुको फल , कागभलायो , कुरिलो , पानी अ्मला , कुकुर डाईनो , सिरुको पात , तिउरी लगाएतको फलफुल , फुलहरु राखेर पुजा गर्ने , शन्ख , घण्ट , थाल , नाङ्लो बजाएर घरको चारै तर्फ लुतो लैजा , सहकाल आईज भनेर अगुल्टो फल्ने चलन रहेको छ । यो चलनमा हाल अलि कमी आएको छ । शहरीकरणको कारण यस्तो भएको हुन सक्छ ।
श्रावण सक्रान्तीलाई अब चाडबाड आयो , वर्षा सकियो भनेर महिना सुनाउने चलन पनि छ ।
देशका विभिन्न स्थानमा आजको दिनलाई विशेष महत्वसाथ मनाइँदैछ। नेपालमा हरेक श्रावण १ गतेबाट नया आर्थिक वर्ष शुरु हुन्छ , आज बाट बजेट , कार्यालयहरुको दर्ता , चलानी , हरहिसाब नया शुरु हुन्छ ।






