बद्री पौडेल , धदिङबेसी , श्रावण ३१ ,
आज देशभर भगवान् श्रीकृष्णको जन्मदिन अर्थात् कृष्ण जन्माष्टमी विविध धार्मिक कार्यक्रमसहित धूमधामले मनाइँदैछ। भाद्र कृष्ण अष्टमीका दिन राति १२ बजे मथुरामा भगवान् विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।
यस अवसरमा आज बिहानैदेखि मन्दिर, मठ–मन्दिर र घर–घरमा पूजाआजा गर्ने, भजन–कीर्तन गर्ने र उपवास बस्ने परम्परा रहेको छ। विशेषगरी मन्दिरहरूमा कृष्णको मूर्तिको विशेष सजावट गरिएको छ भने गीता, भागवत आदिको वाचनसमेत भइरहेको छ। भक्तजनले कृष्णलाई मक्खन, दूध, दही, चिउरा, फलफूल चढाई पूजा गर्ने गरेका छन्।
काठमाडौंस्थित पाटनको कृष्ण मन्दिर, मच्छिन्द्रनाथको मन्दिर क्षेत्र, स्वयम्भू, भक्तपुरलगायतका स्थानमा भक्तजनको घुइँचो लागेको छ। ग्रामीण भेगमा पनि भजन–कीर्तन, धार्मिक नाटक तथा मेला लाग्ने परम्परा छ ,
आज धादिङबेसीको सागुटारमा रहेको कृष्ण मन्दिर मा ठुलो मेला लाग्दै छ , बिचबजारमा रहेको कृष्ण मन्दिरमा पनि मेला लागेको छ ।
श्रीकृष्णलाई न्याय, धर्म, नीति र सत्यमार्गको प्रतिकका रूपमा मानिन्छ। उनले गीता मार्फत धर्म, सत्य, नीति र मानव जीवनको मूल सन्देश दिएको विश्वास गरिन्छ।






