धादिङ । धादिङको सिद्धलेक गाँउपालिका –१ को सडक शुक्रबार बिहानै बित्तिकै चहलपहलले भरिएको थियो । अरु दिन जस्तै यात्रुहरूलाई हिलो र धुलोले सताउने त्यो बाटो आज भने सफा र फरक देखिन्थ्यो । कारण थियो – गाउँले स्वयंले सुरु गरेको सडक सरसफाइ र श्रमदान अभियान ।

नेकपा (माओवादी केन्द्र) सिद्धलेक गाउँकमिटीको आयोजनामा भएको कार्यक्रममा बालकदेखि वृद्धासम्म, युवादेखि नेतासम्म सबै एकै स्थानमा जुटे । हातमा बेलचा, झाडू र टोकरा लिएर सडकमा थुप्रिएको हिलो, धुलो र फोहर हटाइयो । संकलित मैलाको व्यवस्थापनसँगै यात्रुहरूलाई सहज हुने वातावरण बनाइयो ।

सफाइमा सहभागी भएकामध्ये विशेष ध्यान तान्ने व्यक्ति थिए – माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल । नेताले स्थानीयसँगै घाममा पसिना बगाउँदै कोदालो सावेल चलाए । “सडक सफा गर्नु केवल काम मात्र होइन, हाम्रो जिम्मेवारी पनि हो,” उनले श्रमदानका बीचमा छोटकरीमा भने ।

सडक सफाइले गाउँको रुप मात्र फेरिएको छैन, सामूहिक श्रमले एकताको पनि सन्देश दिएको छ । सहभागीहरूका अनुसार यस्ता अभियानले गाउँलाई स्वच्छ, सुन्दर र मिलनसार बनाउन ठूलो योगदान पुर्‍याउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0