बाबुराम फ्युवा, काठमाडौं, १५ भदौ २०८२।
नेपाल प्रज्ञा–प्रतिष्ठानले तामाङ समुदायको सामाजिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई अभिलेख गर्ने उद्देश्यसहित तामाङ भाषाको पत्रिका ‘याम्बुलिङ’’ को पहिलो अङ्क सार्वजनिक गरेको छ ।
“सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान” भन्ने मुल नाराका साथ प्रतिष्ठानले सुरु गरेको मातृभाषा पत्रिका प्रकाशन अभियानअन्तर्गत यो आठौँ भाषिक प्रकाशनका रूपमा आएको हो ।
सार्वजनिक कार्यक्रम प्रतिष्ठानको साहित्य तथा मातृभाषा विभाग प्रमुख प्रज्ञा राजन मुकारूङको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि रहनु भएको थियो भने पूर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री पर्शुराम तामाङ र भाषा आयोगका पूर्व सदस्य अमृत योञ्जन तामाङ विशेष अतिथि हुनुहुन्थ्यो । प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदीले स्वागत मन्तव्य दिनुभयो भने कार्यक्रमको सञ्चालन चेतनाथ धमलाले गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले प्रतिष्ठानको ६८ वर्षे इतिहासमा १२५ भन्दा बढी भाषाभाषी भएको देशमा जम्मा आठवटा भाषामात्र पत्रिका प्रकाशित हुनु चिन्ताजनक भएको टिप्पणी गर्नुभयो । उहाँले, “हामीसँगै हुँदा हुँदै पनि टाढा पारिएका भाषिक समुदायहरूले अब आफ्ना पत्रिका प्रकाशनका लागि सम्बन्धित निकायसँग सशक्त दाबी गर्ने बेला आएको छ,” भन्दै मातृभाषा पत्रिकाको निरन्तरतामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।






