धादिङ । यस वर्षको दोस्रो चन्द्र ग्रहण नेपालबाट समेत देखिन लागिरहेको छ । नेपालसहित युरोपको उत्तरपूर्वि भाग, सम्पूर्ण एसियाली देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका तथा एटलान्टिक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण अवलोकन गर्न सकिने खगोलविद्हरूले जनाएका छन् ।

सामान्यतया चन्द्र ग्रहण पूर्णिमाको दिनमै पर्छ । सूर्य र चन्द्रबीच पृथ्वी पर्न जाने प्रक्रियालाई चन्द्र ग्रहण भनिन्छ । यस क्रममा पृथ्वीको छायाँ चन्द्रमा पर्दा चन्द्रमा कालो देखिन्छ ।

 खग्रास र खण्डग्रास चन्द्र ग्रहण

ग्रहण आंशिक रूपमा परेको खण्डमा खण्डग्रास र पूर्ण रूपमा परेको खण्डमा खग्रास चन्द्र ग्रहण भएको मानिन्छ ।

ग्रहणको प्रभाव

सनातन मान्यताअनुसार ग्रहणले मानवको संवेदना, व्यवहार र सामाजिक अन्तरक्रियामा केही असर पार्ने विश्वास रहिआएको छ । यद्यपि वैज्ञानिक दृष्टिले ग्रहणलाई प्राकृतिक प्रक्रिया मात्र मानिन्छ ।

ग्रहण अवधिभर खानपिन नगर्ने, दान–पूण्य गर्ने, कीर्तन–भजन गर्ने तथा ग्रहणपछि खोला वा तीर्थस्थलमा स्नान गर्ने परम्परा पनि प्रचलित छ ।

यस चन्द्र ग्रहणले अशान्ति र असहिष्णु प्रवृत्तिहरूको नाश होस्, नेपालमा अमन–चैन फैलियोस् भन्ने कामना गरिएको छ ।

 चन्द्र ग्रहणमा के गर्ने, के नगर्ने ?

चन्द्र ग्रहणलाई विज्ञानले प्राकृतिक प्रक्रिया माने पनि धार्मिक–सांस्कृतिक मान्यतामा यसलाई विशेष महत्व दिइएको पाइन्छ । परम्परागत विश्वासअनुसार ग्रहण अवधिमा गर्ने र नगर्ने कार्यहरूको सूची बनाइएको छ ।

ग्रहणमा गर्न हुने कार्य

* मन्त्र जप, तप, ध्यान तथा भजन–कीर्तन गर्नु शुभ मानिन्छ ।

* दान–पूण्य गर्नु – अन्न, लत्ता–कपडा वा दक्षिणा दान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ ।

* ग्रहण समाप्त भएपछि नदी, खोला वा तीर्थस्थलमा स्नान गरी शुद्ध भोजन सेवन गर्ने परम्परा रहिआएको छ ।

 ग्रहणमा गर्न नहुने कार्य

* ग्रहण लागिरहँदा खानपिन गर्नु निषेध छ ।

* निद्रा गर्न नहुने मान्यता छ ।

* धारिलो वस्तु (चक्कु, कैंची, सुई–धागो आदि) प्रयोग गर्न नहुने चलन छ ।

* गर्भवती महिलाले विशेष सतर्कता अपनाउनुपर्ने विश्वास छ, किनकि धारिलो वस्तु प्रयोग वा विशेष काम गर्दा गर्भमा असर पर्छ भन्ने मान्यता छ ।

वैज्ञानिक दृष्टिले ग्रहणले प्रत्यक्ष स्वास्थ्यमा असर नगरे पनि संस्कार, विश्वास र परम्पराको दृष्टिले यी नियमहरू नेपाली समाजमा अझै पनि पालन गरिँदै आएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0