काठमाडौं । विषम परिस्थितिका कारण गत २०८१ साल भदौ २४ गतेदेखि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उड्डान पुनः संचालनमा आउने भएको छ । विमानस्थल सुरक्षा समितिको बैठक बसेपछि पुनः संचालन गर्ने निर्णय भएको हो ।
आज बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले उड्डयन कार्य पुनः सुरु गर्ने निर्णय गरेको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । बैठकले सुरक्षा मूल्यांकनपछि विमानस्थललाई आवश्यक सुधारसहित संचालनमा ल्याउने निर्णय गरेको स्पष्ट पारिएको छ ।
अचानक उत्पन्न विपत्पूर्ण परिस्थितिका कारण विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो । यस अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उड्डान स्थगित भएका थिए । विमानस्थल संचालनमा पुनः सुधारसँगै अब उड्डान क्रमशः सहज हुने अपेक्षा गरिएको छ ।
यात्रुलाई सतर्कता अपनाउन आग्रह गर्दै विमानस्थल कार्यालयले आ–आफ्नो वायु सेवा प्रदायक कम्पनीसँग सम्पर्क गरी मात्र विमानस्थल आउन सुझाव दिएको छ । यात्रुहरूले उड्डान समय, चेक–इन प्रक्रिया र अन्य प्राविधिक पक्षबारे जानकारी लिएर मात्र विमानस्थलमा उपस्थित हुन अनुरोध गरिएको छ ।
त्यसैगरी, विमानस्थल आगमनका क्रममा यात्रुहरूले आधिकारिक हवाई टिकटसहित परिचय खुल्ने कागजात (जस्तै नागरिकता, राहदानी वा अन्य मान्य परिचयपत्र) अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने कार्यालयले स्पष्ट पारेको छ ।
विमानस्थल संचालन पुनः सुरु भएपछि लामो समयदेखि रोकिएका उड्डानहरू सहज रूपमा अघि बढ्ने र यात्रुहरूको आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ ।






