धादिङ । धादिङ कारागारमा आज भएको आगजनी र झडपमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। धादिङ अस्पतालमा सामान्य उपचारपछि गम्भीर घाइते भएका ६ कैदीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको अस्पतालले जनाएको छ।
घटनामा सात जना घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेकाले धादिङमै उपचार भइरहेको छ।
मंगलबार दिउँसो कैदीहरूले कारागारमा आगो लगाउँदै भाग्ने प्रयास गर्दा उत्पन्न भएको घटनामा नियन्त्रण पाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा कारबाही गरेका थिए। आगो नियन्त्रणका लागि दमकल समेत परिचालन गरिएको थियो।
यस्तै, थप विवाद र अव्यवस्था रोक्नका लागि धादिङ जिल्ला प्रशासन कार्यालयले बुधबार दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। मुख्य जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा वा धर्ना गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।







