काठमाडौं । जेन–जी नेपालले जारी गरेको नयाँ विज्ञप्तिमा अन्तरिम सरकार गठनका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अस्वीकृत गर्दै नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई अघि सार्ने निर्णय गरिएको छ ।
भ्रष्टाचार अन्त्य र सुशासन कायमसहित आन्दोलनले ऐतिहासिक सफलता हासिल गरेको निष्कर्ष निकालिएको छ । अब जेन–जी समर्थित अन्तरिम मन्त्रिपरिषद गठनमार्फत मुलुकलाई नयाँ दिशातर्फ लैजाने योजना प्रस्तुत गरिएको छ ।
अन्तरिम मन्त्रिपरिषदको नेतृत्वका लागि सबैभन्दा योग्य उम्मेदवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) रहेको तर उहाँले यस प्रक्रियामा रुचि नदेखाएको स्पष्ट गरिएको छ । त्यस्तै धरानका मेयर हर्क साम्पाङलाई सबैलाई नेतृत्व गर्न सक्षम नभएको ठहर गरिएको छ ।
“पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा प्रारम्भिक चरणमा सकारात्मक छलफल भए तापनि संविधान बमोजिम न्यायाधीश वा पूर्वन्यायाधीशलाई यस पदमा नियुक्त गर्न नमिल्ने, साथै उहाँको उमेर ७० वर्ष नाघिसकेकाले उहाँले जेन–जीको प्रतिनिधित्व गर्न नसक्ने ठहर गरिएको विज्ञप्तिमा भनिएको छ ।”
यसबाहेक, मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल, प्राविधिक दक्षता भएका, देशभक्त र जनप्रिय व्यक्तित्वका रूपमा कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय अन्तिम भएको विज्ञप्तिमा उल्लेख छ ।
जेन–जी नेपालले यसलाई आन्दोलनको प्रमुख उपलब्धि र नयाँ राजनीतिक चरणतर्फको ठोस कदमको रूपमा व्याख्या गरेको छ ।
यसअघि जेन–जीकै अर्को समूहले भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति भएको दाबी गरेको थियो। कार्कीले पनि आफू नेतृत्व लिन तयार रहेको बताउँदै सैनिक मुख्यालयमै पुगेर छलफल गरिरहनुभएको बुझिएको छ।






