धादिङ, भाद्र २६ ।
जेन–जी पुस्ताको आन्दोलनपछि मुलुकमा उत्पन्न भएको विषम परिस्थितीबारे चिन्ता व्यक्त गर्दै नागरिक समाज धादिङले विशेष अपिल जारी गरेको छ। अपिलमा आन्दोलनलाई सुरक्षित अवतरण गराउँदै शान्ति र लोकतन्त्रलाई सुदृढ गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।
नागरिक समाजले देशमा व्याप्त भ्रष्टाचार र बेतिथिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दमन गरेर थप संकट निम्त्याइएको भन्दै ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। अपिलमार्फत आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरिएको छ।
“देश तरल अवस्थामा पुगेको छ। यस्तो संवेदनशील घडीमा यथास्थितिमा रहन दिन सकिँदैन,” अपिलमा भनिएको छ, “संवैधानिक, लोकतान्त्रिक र न्यायोचित संवाद तथा प्रक्रियाबाटै निकास खोजिनुपर्छ।”
नागरिक समाज धादिङले जेन–जी पुस्ताले उठाएका संरचनात्मक सुधारका मागहरूलाई सम्बोधन गर्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियाबाट उन्नत लोकतन्त्रको अभ्यास गर्नुपर्नेमा जोड दिएको छ।
अपिलमा नागरिक सर्वोच्चता, कानुनी शासन, मानव अधिकारको रक्षा, पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्दै संयमता, संवेदनशीलता र दूरदर्शिता अपनाउन सबै पक्षलाई आग्रह गरिएको छ।
अपिलमा सीताराम अधिकारी, टक कुमार श्रेष्ठ, तोला कुमारी पाठक, नरहरि लम्साल लगायत नेपाल पत्रकार महासंघ धादिङ, धादिङ बार एशोसिएसन, गैसस महासंघ धादिङ, नेपाल शिक्षक महासंघ, शितल छहारी नेपाल, दलित सेवा संघ नेपाल, मानव अधिकार संगठन, पब्लिक क्याम्पस प्राध्यापक संघ तथा अन्य नागरिक अगुवाहरूको हस्ताक्षर रहेको छ।







