धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा आइतबार राति आफ्नै आमाको विभत्स हत्या भएको छ।
३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवन गरेपछि आफ्नी ५५ वर्षीया आमा राममाया कँडेलको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।
घटना विवरण
प्रहरी चौकी सल्यानकोटका अनुसार आइतबार (१९ असोज) राति करिब साढे ८ बजेतिर घटेको उक्त घटनामा आमाको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले घटनापछि आरोपित छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, यमबहादुर पहिले पनि विभिन्न आपराधिक घटनामा संलग्न हुँदै आएका थिए।
उनले कुख्यात गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को समूहमा आबद्ध भएर काम गरेको तथ्य खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ।
यसरी भयो हत्या
काठमाडौँमा बस्दै आएका यमबहादुर दशैं मनाउन फूलपातीको अघिल्लो दिन मात्रै गाउँ पुगेका थिए।
घरमा बुवा, आमा, भान्जा–भान्जी र उनी गरी पाँच जना थिए।
आइतबार राति उनी हतियारसहित घर पसेर सुरुमा भान्जालाई प्रहार गर्ने प्रयास गरेका थिए।
भान्जा र बुवा दुवै भागेपछि उनले आमामाथि हतियार प्रहार गरेका थिए।
स्थानीयका अनुसार, उनले टाउको र शरीर छुट्टिनेगरी आमाको हत्या गरी शव आँगनमा राखेका थिए।
प्रहरी र स्थानीय जनप्रतिनिधि पुग्दा पनि उनी हातमा खुकुरी नचाउँदै ‘मैले ठिक गरेको’ भन्दै धम्की दिइरहेका थिए।
सुधारगृह पठाउने विवादपछि घटना
परिवारका अनुसार, यमबहादुर लामो समयदेखि दुर्व्यसनमा फसेका थिए र उनलाई सुधारगृह पठाउने तयारी भइरहेको थियो।
घटनाको दिन पनि सो विषयमा घरमा छलफल भएको र त्यसपछि विवाद बढ्दै गएको बताइन्छ।
एक स्थानीयले भने, “उसले परिवारले आफूविरुद्ध षड्यन्त्र गरेको ठानेर आक्रोशमा आमामाथि हमला गरेको देखिन्छ।”
‘भान्जाले पुर्याए गाउँमा खबर’
घटनापछि खुकुरी प्रहारबाट उम्किएका भान्जाले गाउँमा गएर खबर गरेपछि स्थानीय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए।
प्रहरी पुग्दा पनि यमबहादुर आक्रामक मुद्रामा थिए र बुवालाई पनि धम्क्याइरहेका थिए।
अन्ततः प्रहरीले बल प्रयोग गरी उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी अनुसन्धान जारी
प्रहरीका अनुसार, यमबहादुरमाथि यसअघि पनि काठमाडौँ र धादिङमा विभिन्न आपराधिक मुद्दा दर्ता भएका छन्।
हाल उनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ।






