धादिङ धादिङका इमानदार, सरल र समाजसेवी व्यवसायीका रूपमा चिनिनुभएका बाबुराम लम्साल (मुरलीभन्ज्याङ गा.वि.स.–५ धारापानी) अब हामी माझ रहनुभएन । सादा जीवन, इमानदार व्यवहार र अतिथिप्रेमी स्वभावका कारण “पुलहाउस बाबुराम दाइ” भनेर चिनिने उहाँको निधन २०८२ असोज १९ गते राति भएको हो ।

वि.सं. २०१८ सालमा जन्मनुभएका लम्सालले जीवनमा अनेक आरोह–अवरोह पार गर्दै २०५७ सालदेखि धादिङबजारमा पुलहाउस होटल सञ्चालन गर्नुभएको थियो । त्यही होटलबाट उहाँले आफ्नो जीवनको सबैभन्दा ठूलो पहिचान बनाउनु भयो — “पुलहाउस” भन्ने शब्द नै बाबुराम दाइको पर्याय बन्न पुग्यो ।

उहाँको होटल केवल व्यवसायिक प्रयोजनका लागि होइन, समाजसेवा र मानवीयताको केन्द्रका रूपमा पनि परिचित थियो । पैसाभन्दा मानवीयता ठूलो भन्ने सोचका साथ उहाँले धेरैलाई निःशुल्क खाना खुवाउनु भएको स्थानीयहरू बताउँछन् ।
जो आए नि भोकै नफर्कोस् भन्ने उहाँको बानी थियो,” एक स्थानीयले सम्झिँदै भने, “कसैसँग पैसा नभए पनि ‘भाइ, सबैसँग कहाँ पैसा हुन्छ र? भोक लागेको होला, खान देऊ’ भन्ने गर्नुहुन्थ्यो।”

धादिङमा पहिलो पटक होटल–पुलहाउस सञ्चालन गर्ने व्यक्तित्वका रूपमा लम्सालले जिल्लाको आतिथ्य परम्परामा नयाँ अध्याय सुरुवात गर्नुभएको थियो । उहाँको व्यवहार, सरलता र आत्मीयताले जो कोहीलाई पनि प्रभावित पार्थ्यो ।

करिब २२ वर्षदेखि स्थानीयहरूका लागि खुला सेवक हाउस का रूपमा रहेर उहाँले असंख्य मानिसको मन जित्नुभयो । उहाँको निधनले धादिङ समाजमा एक असल मनुष्य, एक भलाद्मी व्यवसायी र एक आत्मीय मित्र गुमाएको महसुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0