आफ्नो जस्तो बोल्दा पाखे भएँ, अरूको जस्तो बोल्दा जान्ने भएँ ।
अञ्जानमा जोड बलले बिर्सिन सिकाए, बिर्साई सकेपछि पहिचान घोकाए ।

मेरो भाषा कुनै डिग्रीवाला शिक्षक वा गुरुहरूबाट बोल्न लेख्न र पढ्न सिकाएर जानेको भाषा होइन । न मेरो पुर्खाले कुनै लेख्या रूपमा राखेको भाषा नै हो । यो संसारको विभिन्न भाषाहरूमध्ये अलिखित रूपमा बाँच्न सफल भाषामध्ये एक हो । अहिलेसम्म पनि मेरो भाषाको लिपी कुन हो भन्नेमा एकमत देखिएको छैन । तर पनि लगभग ९०% तामाङले बोलेर मात्रै पनि बचाई राखेको छ । यसरी केही वर्षदेखि आफ्नो भाषा बारे बुझ्न लेख्न खोज्छु तर जे समाजमा दैनिकी अभ्यासमा बोलिन्छ, त्यसलाई हुबहु लेख्न मेरो सामर्थ्य रहेन । आफूले जानेको देवनागरी लिपी लेख्दा बोलेको जस्तो लेख्न नसक्दा पनि मनले नमानी नमानी भाषाको मलामी जान बाध्य भएको महसुस भएको छु ।

मेरो मातृभाषाले तिम्रो राज्यको जग धर्मराउछ भने पक्कै तिम्रो राज्य मेरो मातृभूमिमा बनेको हुनुपर्छ” खोइ कतै हाम्रो राज्य सरकार हाम्रो भाषासँग डराएको पो थियो कि छ कि ?

 

जब मैले औपचारिक शिक्षा आर्जन गर्ने क्रममा अन्य भाषा बोल्न र लेख्न थाल्यो, त्यही दिन देखि म मेरो भाषाको नजानी नबुझी मलामी जान सुरु गरेको रहेछु । किनभने जब मैले विद्यालयमा पढाई हुने भाषा प्रस्ट बोल्न सक्दैनथ्यो, तब शिक्षक र पढाई हुने भाषाबाट आएका साथीहरूको अगाडी आफू शुद्ध बोल्न नजान्नेमा बारम्बार परिन्थ्यो । त्यति मात्रै होइन परीक्षामा प्राप्त अङ्क समेत कम आउँथ्यो । यस कारण जानी नजानी आफ्नो भाषाको लवजलाई छोड्दै अन्य भाषालाई प्रस्ट बोल्दा स्याबास पाउँथ्यो । त्यही स्याबास नै आज मेरो भाषाको मलामी जाने खाजा भएको छ । जब अन्य भाषाको लवज र लेख्यमा अभ्यस्त भयो आफ्नो भाषालाई पनि अरूको लवज र लेख्यमा परिणत हुँदै गएको दिनदेखि फेरी दोश्रोपटक मलामी हुन पुग्यो । अझै अन्य भाषालाई औपचारिक रूपमा नसिकेकाहरूमा तामाङ होइन कि तामाङ लवजहरू स्पष्ट सुन्न सकिन्छ । तर म जस्तो पढेलेखेका भन्नेहरूमा तामाङ लेख्यो भने अशुद्ध लेखेको महसुस मात्रै होइन कि हात नै मान्दैन र तामाङ नै लेखेर भाषाको विज्ञ भनी गर्व गर्छन् ।

यसरी बारबार आफ्नै भाषाको मलामी हुन बाध्य छन् । कुर्दिस लेखक मुसा अन्टरेले भनेको जस्तो मेरो मातृभाषाले तिम्रो राज्यको जग धर्मराउछ भने पक्कै तिम्रो राज्य मेरो मातृभूमिमा बनेको हुनुपर्छ” खोइ कतै हाम्रो राज्य सरकार हाम्रो भाषासँग डराएको पो थियो कि छ कि ? भाषिक साम्राज्यवादले कतिसम्म प्रभाव पार्दो रहेछ भन्ने कुरा आज जजसले भाषाविद्को पगरी गुथेको छन्, उहाँहरूले पढेको भाषिक सिद्धान्तहरूलाई अगाडी सार्दै मैले बोल्ने गरेको तामाङलाई तामाङ, अस्येङ्लाई आस्याङ, जमेलाई झामे, दिमलाई धिम लेख्न लेखाउन उद्धत देखिन्छ । जब कहीँ कतै जानी नजानी लेखि लेखाई भएको छ भने पनि सत्यलाई आत्मसाथ नगरी अर्को बनिबनाउ एउटा सिद्धान्त अगाडी सारेर पुस्ट्याइँ गर्ने धुर्ततागरेको प्रशस्तै पाइन्छ । यो त झनै मेरो भाषाको सामूहिक मलामीहरूको दादागिरी जस्तो लाग्छ । किनभने हाम्रो भाषाको श्रोत भनेको नै मौखिक भएकोले यो अन्य भाषाको लिपिमा भएका भाषाविद्हरूले मेरो भाषाको सही प्रतिनिधित्व हुने गरी लेख्न सक्छु भन्नु मूर्खता मात्रै हुन सक्छ । बरु पढेलेखेका भन्नेहरूले आफूले लेख्न जानेको लिपिमा बलजफती भाषालाई अभ्रकसित गर्नु पनि कुनै बुद्धिमानी होइन यो पनि मलामी नै हो । ब्युर्चेतबाट बिर्चेत हुँदै बृचेत पुर्‍याउनुलाई त तीन पुस्ताको मलामी भन्न सकिन्छ । जबकि बृचेत शब्दको तामाङमा कुनै अर्थ छैन । यसरी हाम्रो भाषालाई जब हामीले जानेको सिकेको लिपिमा लेख्यमा ल्याउन सुरु गर्‍यो त्यहाँबाट सामूहिक मलामी जाने क्रम सुरु भयो ।

भाषाको साम्राज्यवाद कति डर लाग्दो सम्म हुने रहेछ भन्ने कुरा हाम्रो देशको राजधानीको नामुद निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले आफ्नो उत्तर पुस्तिकामा नेपाली भाषा प्रतिको वितृष्णा यसरी पोखेको पाइयो कि “यो नेपाली कसले राखेको होला, यो भन्दा त जापानी भाषा सिक्न सजिलो छ, अङ्ग्रेजीमा लेख्न पाएको भए गीत भने नि लेख्न सकिन्थ्यो ।“ नेपाली शुद्ध बोल्न नजाँदा आफूलाई कति कमजोर ठानिनु परेको र नेपाली बोल्न पर्छ भनेर शिक्षकहरूबाट टाढा टाढा हुनु परेको आजै जस्तो लाग्छ । यस्तो समय थियो कि तामाङ त बोल्नै हुँदैन । तामाङ जानेर पढेर के हुन्छ तामाङमा पिएचडी नै गरे पनि जागिर पाउने होइन भनेर हतोत्साहित गर्नेहरू त झन् भाषाको मलामीको राजा नै मान्नु पर्छ । यसरी आफ्नो मातृभाषाप्रतिको वितृष्णा बढ्नुमा राज्य सत्ताको भूमिका भन्दा अरू कसको होला र ? यहाँ ५% भन्दा बढी जनसङ्ख्या भएको तामाङ भाषाको लिपी विकासको बारेमा कुनै स्पष्ट बहस सम्म भएको पाइँदैन ।

मलाई म बन्न नदिने अभ्यासलाई कुन सिद्धान्त भन्ने थाहा छैन । अरू जस्तो बन्ने प्रेरित गर्ने नियम नीतिलाई मूल मन्त्र मान्दै राज्य व्यवस्था चलाउने र त्यही सोचबाट दीक्षित विज्ञहरूद्वारा मलाई मेरो भाषाको मलामी बन्न बाध्य बनाएको छ । मलाई मेरो भाषा आफ्नै लवजमा बोल्दा शुद्ध भएन भन्दै लजित बनाउने क्रम कता रोकेको छ र ? मेरो अनुरोध मलाई मेरो लवजमा बोल्न दिनुस् तपाईँको भाषिक नियमको मापन वा मानकबाट बनेको भाषा मेरो होइन ।

कसैले कसैको भाषाको लवजलाई लिएर होच्याउने र खिसिट्याउरी गरेमा भाषिक हिंसा मानिने कुराले पनि राम्रै बहसको विषय बनेको छ । तर आफ्नै भाषाभित्र कोले होच्याउने खोस्याउने गरेमा त्यस्तोलाई त महाहिंसा भन्नु पर्छ होला । यस्तो कुरामा भाषाविद्हरूको भूमिका पनि आफूलाई सहज हुने सिद्धान्तद्वारा अभिप्रेरित देखिन्छ । तामाङ भाषा अभियान्तहरूले कहीँ कतै भेट्दा तपाइहरूको त भाषा सबै बिगारी सकेको रहेछ भनेर कुनै स्थान विशेषलाई ईङ्कित गर्दै बोल्नु कतिको न्यायोचित होला ? जसले भनेको हो उसैको बिग्रेको पनि त हुन सक्छ ।

संसारको कुनै पनि भाषामा विविधता पाइन्छ, जस्तै अङ्ग्रेजीको अमेरिकन इङ्लिस र इङ्लिस इङ्लिस, नेपालीको सुदूर पश्चिम र कर्णाली प्रदेशमा बोलिने र अन्य क्षेत्रमा बोलिनेमा विविधता, त्यसरी नै बंलादेशको खुलना, नुवाखाली र अन्य क्षेत्रमा बोलिने बङ्गाली भाषामा विविधता स्पष्ट पाइन्छ । तर तामाङभित्रै विविधतालाई स्विकार्नुको सट्टा मैले बोलेको तामाङ भाषा नै सकली भाषा हो भन्ने जस्तो भावनाले त उही एकल भाषा नीतिको परम्परागत अभ्यासको निरन्तरता नै भन्नु पर्छ होला ।

भाषालाई जब मेरो भाषा हो भन्ने दायराभित्र राख्ने कोसिस हुन्छ तब भाषाको विकासमा अवरोध आउन सक्छ किनकि भाषा कुनै जातीको हुँदैन, भाषा राज्यको हुन्छ । नेपालमा १२५ भन्दा बढी भाषाहरू भए पनि राज्यले स्विकारेन र एकल भाषी राज्यको रूपमा सञ्चालन गर्दै आयो । नेपाल जब संघिय संरचनामा प्रवेश गर्यो विभिन्न भाषा भाषीलाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न प्रदेश सरकारहरूको पहल कदमी सुरु भएको छ । बागमती प्रदेशले तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजी भाषाको रूपमा अनुमोदन गरिएको छ । कुनै पनि देश एकल भाषी, द्विभाषी, वाहु भाषी जे भए पनि भाषाको आम्दानीसँग सहसम्बन्ध हुन्छ । सानो भाषा समूह सानै आम्दानी, ठुलो भाषा समूह ठुलै आम्दानी हुन्छ । यसैले भाषा देशको हुन्छ, जाती वा जातको होइन ।कुनै पनि भाषा कति प्रतिशत छ भन्ने कुरा तथ्याङ्क शास्त्रीहरूको काम हो । कुनै भाषा कति प्रतिशतले बोल्छ भनेर विश्लेषण गर्ने काम अर्थशास्त्रीहरूको हो ।शिक्षाशास्त्रीहरूले एक अर्काको भाषा सिकौँ र सिकाऔँ भन्नेमा जोड दिनु पर्दछ(डा. विद्यानाथ कोइराला, भाषामा र आम्दानी २०२५)

एकभन्दा बढी भाषाहरू सिक्न र सिकाउन आधुनिक प्रविधिहरूको प्रयोग गर्नु पर्दछ । आधुनिक समाज विकासको क्रमले गर्दा मातृभाषा भन्ने परिभाषामा चुनौती थपि दिएको छ । बाबु तामाङ भाषी र आमा नेपाली भाषी बिच विवाह भयो भने तिनीहरूको सन्तानले आमाबाट सिक्ने भनेको नेपाली भाषा नै हो तर वंशाणुगत हिसाबले छोराछोरी तामाङ हुने हुँदा तामाङ भाषी हुनु पर्ने हो । तसर्थ देश मातृभूमि हुने र भाषा पितृ भाषा हुने देखिन्छ । तामाङको पितृ भाषा त तामाङ भाषा नै हो आमा जुन सुकै भाषी भए पनि । यसरी भाषामा विचलन क्रम चलेको पाइन्छ । यसरी अन्तरजातीय र अन्तरभाषीय विवाहले भाषिक सहजता क्षेत्रलाई अवलम्बन गर्न पुग्छ र पितृ भाषाको विकासमा ह्रासत्व आएको पाइन्छ । किनभने तामाङ भाषी पिता र नेपाली भाषी आमा बिच विवाह हुँदा नेपाली भाषा परिवारको लागि सहजता क्षेत्रको भाषा हुने हुँदा तामाङ भाषा नबोली नेपाली भाषा बोलिन्छ ।

बहुभाषिक समाजले वहुसँस्कृति वाकेको हुन्छ । त्यसैले तामाङ भाषामा देखिएको विविधताले पनि तामाङहरूको सांस्कृतिक विविधतालाई जनाउँछ । तर आफूले बोलेको जस्तो तामाङ भाषा मात्रै असली तामाङ भाषा र अन्य क्षेत्रका तामाङले बोलेको तामाङ भाषा नै होइन सबै बिगारी सकेछ भन्ने जस्ता भनाइहरूले पनि भाषा बोल्नेहरूमा हिच्किचवाट सृजना गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
0
+1
0
+1
0