धादिङ — “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति धादिङले १७औं साधारण सभा तथा ८औं जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ।
उक्त अधिवेशन यही २०८२ साल कार्तिक २२ गते शनिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौदीस्थित विद्यालय प्राङ्गणमा हुने भएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापा मगर रहनेछन्। सो अवसरमा अन्तर्राष्ट्रियदेखि राष्ट्रिय स्तरसम्मका ख्यातिप्राप्त कलाकारहरूको बेजोड संगीतिक प्रस्तुति पनि प्रस्तुत गरिनेछ।
प्रतिष्ठान धादिङका सदस्य सन्दीप स्याम्चेन तामाङका अनुसार कार्यक्रमले जिल्लामा लोकदोहोरी क्षेत्रको एकता, स्रष्टा सम्मान र नयाँ प्रतिभाको प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्नेछ। उनले स्रोता र दर्शकहरूको गरिमामय उपस्थिति रही कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेका छन्।
आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति धादिङ परिवारले सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ।






