काठमाडौं— दुई दिनसम्म चलेको चौथो नेपाल संवाद सम्मेलन मंसिर ४ र ५ गते काठमाडौंमा सम्पन्न भएको छ। संवेदनशील राजनीतिक तथा सामाजिक परिवेशमा संवादको आवश्यकता र भूमिकालाई केन्द्रीत गरी सम्मेलन सम्पन्न भएको आयोजकले जनाएको छ।

उद्घाटन सत्रमा प्रमुख अतिथि तथा संयुक्त राष्ट्रसंघीय नेपाल आवासीय प्रतिनिधि हाना सिनगर हम्दीले नेपालजस्तो देशमा संवाद संस्कृतिले सहअस्तित्व र साझा समझदारी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्। “संवाद भनेको कसैको जित–हार होइन, साझा समाधानतर्फ अघि बढ्ने प्रक्रिया हो,” उनले उल्लेख गरिन्।

सम्मेलनका प्रमुख वक्ता पूर्वराजदूत तथा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्का पूर्व सभापति डा. शम्भुराम सिंखडा रहेका थिए। त्यससँगै जर्मन–नेपाल सहयोग नियोग, नागरिक शान्ति सेवा कार्यक्रमकी अधिकृत इभा गादेररले पनि आफ्नो धारणा प्रस्तुत गरेकी थिइन्।

दुईदिने सम्मेलनमा अन्तर्राष्ट्रिय संवाद विज्ञहरूको प्रस्तुति तथा राष्ट्रिय संवाद अभ्यासमा संलग्न थुप्रै संस्थाबीच अनुभव आदान–प्रदान भएको नेपाल संवाद अभियान सञ्जालका अनुसार, नेपाली समाजमा संवादलाई संस्कारका रूपमा विकास गर्दै स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म अभ्यासलाई सुदृढ बनाउने उद्देश्यले नौ बुँदे घोषणा–पत्र पनि सार्वजनिक गरिएको छ।

देशभरका विभिन्न क्षेत्रका करिब चार दर्जनभन्दा बढी नागरिक समाज संस्थाको स्वस्फूर्त सहभागिता रहेको नेपाल संवाद अभियानका संयोजक शरद न्यौपानेले जानकारी दिए।

स्रोत: लाङटाङ पाेष्ट डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0