धादिङ, मंसिर १५ — स्थानीय सञ्चारकर्मीहरूको क्षमता बढाउने उद्देश्यसहित ‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी तीनदिने तालिम आजदेखि धादिङको बेनीघाट रोराङमा सुरु भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा तालिम सञ्चालन गरेको हो। तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २६ जना पत्रकार सहभागी छन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले एआईजस्ता आधुनिक प्रविधिले पत्रकारितामा नयाँ क्षितिज खोलिदिएको बताउनुभयो। “एआईले पत्रकारिता सजिलो मात्र बनाउँदैन, जिम्मेवारी पनि बढाउँछ,” उहाँले भन्नुभयो, “यस्ता तालिमहरूले तथ्यपरक, विश्वसनीय र प्रभावकारी पत्रकारिता अभ्यासमा ठूलो योगदान पुर्याउँछन्।” अध्यक्ष थपलियाले विकास–निर्माणका मुद्दालाई पत्रकारहरूले निरन्तर एजेन्डा बनाउनुपर्नेमा पनि जोड दिनुभयो।
त्यसैगरी नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी ले विकास पत्रकारिता वर्तमान समयको आवश्यकता बनेको उल्लेख गर्नुभयो। “स्थानीय विकासका मुद्दा पहिचान, तथ्यमा आधारित रिपोर्टिङ र तथ्याङ्कीय विश्लेषणमा एआईको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको छ,” अधिकारीले भन्नुभयो। “प्रविधि अब विकल्प होइन, आवश्यकतामा रूपान्तरण भइसकेको छ। एआईको सही प्रयोगले स्थानीय पत्रकारिताको स्तर थप मजबुत हुन्छ।”
मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन हुने तालिममा सहभागी पत्रकारहरूले विकास पत्रकारिताका सिद्धान्त, तथ्य संकलनका विधि, स्थानीय विकासका मुद्दा पहिचान तथा एआई उपकरणहरूको व्यावहारिक प्रयोग सम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन्। तालिमले जिल्लामा विकास पत्रकारिता सुदृढ गर्न, प्रविधि–मैत्री समाचार लेखन प्रवर्धन गर्न तथा स्थानीय सञ्चारकर्मीलाई सक्षम बनाउन योगदान पुग्ने आयोजकहरूको अपेक्षा छ।






