धादिङ — २०८२।०८।२० गते , धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेस्थित पृथ्वीलोकमार्गमा बिहीबार साँझ एकै समयमा करिब सातवटा सवारी आपसमा ठोक्किँदा २काे मृत्यु ३५ जनाभन्दा बढी घाइते भएका छन्।

बिहिबार करिब ४:०० बजे गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको बा १ प ९१७ नम्बरको बस, ऐ–दिशातर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, काठमाडौँदेखि गजुरीतर्फ जाँदै गरेका NL01AB4654 नम्बरको डिब्बा गाडी, GJ03AZ3231 नम्बरको भारतीय बस, बा.प्र.०६–००१ ग ००११ नम्बरको स्कुले बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जानकारी दिए।

गम्भीर र मध्यम घाइतेलाई काठमाडौँस्थित विभिन्न अस्पतालमा रेफर गरिएको छ भने सामान्य घाइतेको उपचार साईबाबा सामुदायिक अस्पताल, अल्फामेड अस्पताल लगायत स्थानीय स्वास्थ्य संस्थामा गरिएको छ।

बा १ प ९१७ नम्बरको बसमा सवार बिनोद पोखरेल, मिना पनेरु, इन्द्रकुमारी देवकोटा, सीता गजुरेल, अजय घिमिरे, सूर्य घिमिरे र कुशल घिमिरे घाइते भएका छन्। तीमध्ये अजय घिमिरेलाई च्यापुमा चोट लागेको र काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै, चितवन कालिका नगरपालिकाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ग ००११ नम्बरको स्कुले बसमा सवार चालक उदयबहादुर थापा सहित २५ जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन्। उनीहरू मध्ये धेरैलाई टाउको, हात–खुट्टा तथा अनुहारमा चोट लागेको थियो। उपचारपछि धेरै विद्यार्थी १८:१५ बजेदेखि क्रमशः डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। कबिता सिंह, यमवि श्रेष्ठ, रमित परियार, समिर मगर, ईस्माईल थिङ, कमला लामिछाने, सचिन गुरुङ, शिव लामिछाने, आस्विन प्रजा, राधिका चेपाङ, मिलन तामाङ, कशिस तामाङ, सन्तोष प्रजा, बिराज तामाङ, जयराम अर्याल, निशान गुरुङ, समिर परियार, जसमिन श्रेष्ठ, कमल गुरा, रबिना सुनार, प्रतिमा मगर, आयुब बि.क., बिमला तामाङ लगायतका विद्यार्थी बराबर घाइते भएका छन्।

त्यसै गरी मोटरसाइकल चालक ५९ वर्षीय सेख खलि गम्भीर घाइते भई टिचिङ अस्पताल काठमाडौँमा उपचाररत छन्। NL01AB4654 नम्बरको डिब्बा गाडीका चालकको नाम खुलिसकेको छैन तर खुट्टा र घाँटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। ग १ ख ८५५१ नम्बरको बस चालक राजु कार्की सामान्य चोटसहित उपचारपछि डिस्चार्ज भएका छन्।

प्रहरीका अनुसार दुर्घटनाको कारण तीव्र गति, भीडभाड र सडकको भौगोलिक संरचना हुनसक्ने अनुमान गरिएको छ। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उद्धार, ट्राफिक व्यवस्थापन र सवारी हटाउने कार्य सकेपछि साँझ १८:५५ बजेदेखि उक्त स्थानमा एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0