काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका लागि तयार गरिएको ‘कुटी’को नक्सा सामाजिक सञ्जालमा भाइरल बनेपछि शिक्षामन्त्री महावीर पुनले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले आफ्नो फेसबुक स्टाटसमार्फत नक्सा बनाउने इञ्जिनियरमाथि कडा शब्दमा खनिँदै लापरवाहीप्रति कटाक्ष गरेका हुन्।

मन्त्री पुनले लेखेका छन्, “हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाएर ल्याउँ भन्दा यत्रो ठूलो दरबार जस्तो नक्सा बनाइदिन्छ? कस्तो लापरवाही! यस्तो नक्सा बनाउने इञ्जिनियरलाई त कारबाही गर्नुपर्ने हो।”

उनको स्टाटसमा “सख्त कारवाही तथा मानहानीको मुद्दा लगाउनुपर्छ” भन्ने व्यङ्ग्यात्मक अभिव्यक्ति समेत समावेश थियो। पुनले हल्का रमाइलो शैलीमा लेखिएको उक्त टिप्पणीबाट इञ्जिनियरिङ काममा हुने कथित असावधानी तथा ढिलाइप्रति व्यंग्य गरेका छन्।

ओलीका लागि निर्माणाधीन ‘कुटी’को तस्बिर तथा नक्सा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले सो संरचना वास्तविक आश्रमभन्दा ‘भव्य घर’ जस्तो देखिने टिप्पणी गर्दै आलोचना गरेका छन्। त्यही संदर्भमा मन्त्री पुनले पनि व्यङ्ग्य मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनको स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले मन्त्रीको शैलीलाई रमाइलो र रोचक मानेका छन् भने केहीले सरकारी पदमा बसेको व्यक्तिबाट यस्ता टिप्पणी सन्तुलित हुनुपर्ने सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0